Logo
Logo

विद्याको चीन भ्रमणमा वाम एकताको चासो


0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको वरिष्ठ नेता बनेपछि पहिलो चीन भ्रमणबाट फर्केपछि नेपाल–चीन सम्बन्ध, एमालेको शक्ति समीकरण र वामपन्थी ध्रुवीकरणको सम्भावनालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता भण्डारीले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तापछि यसको चासो बढेको हो । एमालेको वरिष्ठ नेतामा मनोनयन भएपछि भण्डारीले पहिलोपटक गरेको चीन भ्रमणका क्रममा भएको यो भेटलाई नेपालको वामपन्थी राजनीतिसँग जोडेर हेरिएको छ ।

चारदिने चीन भ्रमणमा रहेकी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्ध, दुई देशको आपसी हित र पछिल्लो राजनीतिक परिस्थितिबारे करिब एक घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

भेटवार्तामा उठेका विषय, छलफलको विस्तृत विवरण र त्यसबाट निस्किएका निष्कर्ष भने सार्वजनिक गरिएको छैन । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको स्रोतको दाबी छ । तर, त्यसक्रममा एमालेको आन्तरिक राजनीति, वामपन्थी दलहरूबीचको सम्बन्ध वा सम्भावित वाम एकताबारे पनि संवाद भएको निकटवर्ती दावी छ ।

भण्डारीको चीन भ्रमणलाई सामान्य कूटनीतिक शिष्टाचारमा मात्र सीमित गरेर हेर्नुको सट्टा उनको बदलिँदो राजनीतिक भूमिकाको सन्दर्भमा समेत विश्लेषण गर्न थालिएको छ । राष्ट्रपति पदबाट अवकाश पाएपछि सक्रिय दलीय राजनीतिमा फर्किएकी भण्डारी अहिले एमालेको वरिष्ठ नेताको भूमिकामा छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति संघर्षपछि एमाले राजनीतिमा उनको पुनरागमन र त्यसलगत्तै भएको चीन भ्रमणले उनको राजनीतिक सक्रियताबारे थप प्रश्न उठाएको छ ।

नेपालको वामपन्थी राजनीतिमा चीनसँगको सम्बन्ध लामो समयदेखि रणनीतिक चासोको विषय रहँदै आएको छ । विशेषगरी एमाले, माओवादी केन्द्रलगायत वामपन्थी दलहरूको राजनीतिक दिशा, आपसी सम्बन्ध र एकताको सम्भावनालाई चीनले कसरी हेर्छ भन्ने प्रश्न बेलाबखत बहसमा आउने गरेको छ ।

यही पृष्ठभूमिमा एमालेको वरिष्ठ नेताको हैसियतमा भण्डारीले चिनियाँ विदेशमन्त्रीसँग गरेको भेटले राजनीतिक चासो बढाएको हो ।

भण्डारीको चीन भ्रमणलाई नेपालको वामपन्थी राजनीतिमा सम्भावित नयाँ समीकरणको सन्दर्भमा समेत हेरिएको छ । एमालेभित्र नेतृत्व र प्रभावको समीकरण परिवर्तन भइरहेका बेला भण्डारीको राजनीतिक सक्रियता आफैंमा चासोको विषय बनेको छ । उनको चीन भ्रमणले पार्टीभित्रको शक्ति सन्तुलन, एमालेको भावी राजनीतिक दिशा र अन्य वामपन्थी दलसँगको सम्बन्धबारे बहसलाई थप व्यापक बनाएको छ ।

नेपालका वामपन्थी दलहरूबीच एकताको चर्चा नयाँ होइन । विगतमा चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मका अभ्यास भएका छन् । तर नेतृत्वको प्रतिस्पर्धा, वैचारिक मतभेद र सत्ता समीकरणका कारण ती एकता टिकाउ हुन सकेका छैनन् । यस्तो अवस्थामा चीनसँगको राजनीतिक संवादलाई वामपन्थी दलहरूबीचको सहकार्यको सम्भावनासँग जोडेर हेरिए पनि त्यसको वास्तविक दिशा र प्रभावबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।

भण्डारीको चीन भ्रमणलाई नेपालको वामपन्थी राजनीतिमा सम्भावित नयाँ समीकरणको सन्दर्भमा समेत हेरिएको छ । एमालेभित्र नेतृत्व र प्रभावको समीकरण परिवर्तन भइरहेका बेला भण्डारीको राजनीतिक सक्रियता आफैंमा चासोको विषय बनेको छ । उनको चीन भ्रमणले पार्टीभित्रको शक्ति सन्तुलन, एमालेको भावी राजनीतिक दिशा र अन्य वामपन्थी दलसँगको सम्बन्धबारे बहसलाई थप व्यापक बनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी चीनको विदेश नीतिका महत्त्वपूर्ण नेतृत्वकर्ता हुन् । नेपाल–चीन सम्बन्ध राज्यस्तरीय कूटनीति, आर्थिक सहकार्य र राजनीतिक संवादमा आधारित छ । त्यसबाहेक चीनले नेपालका विभिन्न राजनीतिक दलसँग पनि सम्बन्ध राख्दै आएको छ । भण्डारीसँग भएको भेटले कुन तहको संवादलाई प्राथमिकता दिएको थियो भन्ने कुरा भने सार्वजनिक भएको छैन । वाङ यीसँगको भेटलाई चीनले एमालेभित्रको कुनै विशेष नेतृत्वलाई समर्थन गरेको वा नेपालमा वाम एकताको प्रक्रिया अघि बढाएको भन्ने विषयमा हेर्न थालिएको छ । सक्रिय दलीय राजनीतिमा फर्किएकी भण्डारीले चिनियाँ नेतृत्वसँग गरेको संवादले उनको अन्तर्राष्ट्रिय राजनीतिक सम्पर्क र आगामी भूमिकाबारे चासो बढाएको छ ।

भण्डारीको भ्रमणले एमालेभित्रको शक्ति समीकरणमा कस्तो प्रभाव पार्छ, अन्य वामपन्थी दलसँगको सम्बन्धमा कुनै नयाँ संवादको बाटो खोल्छ कि खोल्दैन र नेपाल–चीन राजनीतिक सम्बन्धमा उनको भूमिका कस्तो रहन्छ भन्ने प्रश्न अब थप महत्त्वपूर्ण बनेका छन् ।

भण्डारीको चीन भ्रमणमा तत्कालीन राष्ट्रपति भण्डारीका सञ्चार सचिव सोम राई, डा। कैलास भण्डारी र स्वस्तिका विष्ट पौडेल सहभागी थिए । चारदिने भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारी, केन्द्रीय सदस्यहरू कर्ण थापा र बाबुराम अधिकारी तथा नेता कृष्ण राई, नविना लामालगायतले स्वागत गरेका थिए । भण्डारी स्वदेश फर्किदा केन्द्रीय कार्यालयकै तर्फबाट स्वागत गरिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000