
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । परराष्ट्र सचिव अमृतकुमार राईको औपचारिक निमन्त्रणामा उनी आज काठमाडौं झर्न लागेका हुन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ । भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ ।
















