
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् । जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार ५ महिनाअघि नै उनी रिहा हुने भएका हुन् ।
जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले २५ प्रतिशत कैद छुट पाउँछन् । रायमाझीका तर्फबाट पनि ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो । कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार (कात्तिक १३) गते जिल्ला अदालत काठमाडौले सुनुवाइ गर्दै माग बमोजिमको सुविधा दिलाउन आदेश दिएको हो ।
सोही आदेश अनुसार ६५ वर्ष पुग्नासाथ रायमाझी रिहा हुने भएका हुन् । जेष्ठ नागरिक सम्बन्धी ऐन तथा कारागार सम्बन्धी कानुनमा उमेरका आधारमा कैदीलाई विशेष कैद छुट्को व्यवस्था छ । ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्नेछन् । ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेका कैदीले ५० प्रतिशत र ७५ वर्षभन्दा बढी उमेरका कैदीले ७५ प्रतिशत कैद छुट पाउने व्यवस्था छ । सोही आधारमा रायमाझीलाई कैद छुट दिने आदेश भएको हो ।
रायमाझीलाई नक्कली शरणार्थी सम्बन्धी मुद्दामा ४ वर्ष कैदको फैसला भएको छ । २०८० वैशाखदेखि थुनामा रहेका उनको कैद भुक्तान २०८४ वैशाखमा मात्रै पूरा हुन्थ्यो । तर, उनले ६५ वर्ष पूरा भएपछि चार वर्षको २५ प्रतिशतसम्म अर्थात एक वर्ष नै कैद छुट पाउन सक्थे। तर उनको बाँकी कैद ६ महिना मात्रै रहेकाले त्यतिनै छुट्को आदेश भएको हो । हाल उनी डिल्लीबजार कारागारमा छन् । अदालतले कैद छुट गरेको पत्र सोमबार पठाइसकेको कारागारका जेलर बिक्रम पाण्डेले बताए ।
















