
काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। केदारस्युँ गाउँपालिका–७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहान से. ००१ च ४३७६ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउपालिका काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामीको मृत्यु भएको हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन्।
१५ जना सवार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाँकी ७ जनाको अवस्था भने सामान्य छ । काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।
गम्भीर घाइतेलाई केदारस्युँ गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल सिमखेत लगिएको छ । जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















