Logo
Logo
लिखु गाउँपालिका

मृत्यु भएकाको समेत सामाजिक सुरक्षा भत्ता खाने ५ जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । उनीहरुले आपसी सहमति र मिलेमतोमा वडा अध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का तीन–तीनवटै चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखिएको छ ।

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणको नामावलीमा दोहोरो नाम समावेश गरी रकम वितरण गरेको देखाइएको, मृत्यु भएका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको तथा आर्थिक वर्ष २०७५/७६ मा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको नामसमेत कायम राखेर रकम वितरण गरेको देखाइएको आयोगले जनाएको छ ।

यी गलत विवरणसहितका अभिलेखका आधारमा पेश्की फछ्र्योट गराई थप दुई लाख ५२ हजार रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ । यसरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आरोपपत्रमा उल्लेख छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध नौ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

त्यस्तै, तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिनासम्बन्धी कसुर तथा दफा ११ बमोजिम सरकारी अभिलेखमा बदनियतपूर्वक हेरफेर गरेको कसुरमा सजायको मागदाबी लिइएको छ ।

आयोगले बिगो असुलउपर गर्न, बिगोबमोजिम जरिवाना तथा कानुनबमोजिम कैद सजाय गर्न माग गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000