Logo
Logo

हिमालको शक्ति, नेपालको बेवास्ता


पूर्णहरि अमात्य

0
Shares

नेपाल भन्नासाथ जसको पनि मनमा पनि माउन्ट एभरेष्टको झल्को र उच्च पर्वत शृंखलाहरुको देशको रुपमा स्मरण हुन्छ । किनकि, नेपाल र हिमालय पर्यायजस्तै छन् । हिमालयको १५०० माइल लामो ऋङ्खला कश्मीरदेखि पूर्वमा आसम (भारत सम्मकै फैलिएको छ र त्यसमध्ये ५०० माइल झण्डै एक तिहाइ भाग नेपाल भित्र पर्दछ । र, नेपालको हिमाल विश्वका दश प्रमुख पर्वतहरु मध्ये नै नेपालमा पर्दछन् र यस बाहेक लगभग २४० चुलीहरु २० हजार फिट भन्दा उचाइका छन् ।

यो प्रकृतिले हामीलाई दिएको बेजोड उपहार हो भन्नुपर्दछ । संस्कृतको ‘हिमालय’ शब्दले बाह्रैमहिना हिउँले ढाकिने पर्वतमालाहरुलाई जनाउँछ । हिमालयले देशको कुल भागको लगभग २२ हजार वर्ग किमी भाग ओगटेको छ ।

नेपालमा पर्ने हिमालयको खण्ड एउटै श्रृङ्खलाको रुपमा नभई ठाउँ ठाउँमा ठूला नदीहरुले खण्डित गरेको छ । यस वर्गीकरण अनुसार त्रिशुली नदी पूर्वका सम्पूर्ण हिमशिखरहरु कोशी खण्डमा र त्रिशूलीदेखि पश्चिमका कालीगण्डकीसम्मका शिखरहरु गण्डक खण्डमा अनि कालीगण्डकीदेखि पश्चिमका शिखरहरु कर्णाली खण्डमा पर्दछन् ।

नेपालमा रहेका अग्ला सुन्दर हिउँ चुचुराहरु हाम्रा अमूल्य प्राकृतिक निधि हुन् । र, नेपालीहरुका लागि हिमाल केवल धार्मिकगीतको प्रेरणा र हिउँ तगारोको रुपमा रहि आएको छ । हामी सन् १८९४ मा हाम्रा हर्कवीर थापा, करवीर बुढाठथोकीले स्वीटजरल्याण्डका पर्वतहरु आरोहण गरेको कथा सुनेर मख्ख पर्छौँ । प्रसिद्ध भूगोलविद स्व. हर्क गुरुङ नेपालका हिमाल बारे यसो भन्छन्, “हिमाल विशाल छ र अनौठो किसिमको राम्रो देखिन्छ तर हिमालयको सौन्दर्यमा मात्र अल्मलिनु वास्तविकता होइन । अर्काले सगरमाथालाई माउण्ट एभरेष्ट वा जोमोलङ्मा नामाकरण गरेमा त्यसको प्रत्युत्तर नाराले होइन विवेकको आधारमा दिनु पर्दछ । देशको हिमालको वास्तविकता विषयमा गहकिलो अध्ययनको ठूलो खाँचो छ ।”

उनि भन्छन्, “हाम्रो साधारण दृष्टिकोणमा कठ्याङ्ग्रीने हिमाल चढेर जीउ जोखिममा हाल्नु मूर्खता हो ।” हामी बाँच्ने बेसाहाको घेराभित्र पिल्सिएका छौँ, तर विकसित देशका मानिसहरु आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्छन् । भौतिक साधनहरुले जति भरिपूर्ण भएपनि तिनिहरु असन्तुष्ट रहन्छन् । डा. गुरुङ अगाडी भन्छन्, पर्वतको विशालतामा मानिसले आफुलाई एउटा सुरक्षित पाउँछ र सृष्टिकर्ताको महानतामा विकास गर्न मानिस बाध्य हुन्छ ।

उहिलेका ऋषिहरुले हिमालमा ज्ञान पाएझैँ रुसो, रस्किन, गोथे, नित्से, वर्डक्वर्थ, किट्स आदिले पर्वतका शान्तिमा प्रेरण पाए । दार्शनिकताको स्रोतको साथै पर्वत सुन्दरताको मुहार हो । गुराँसे वन बुगेनी लेक र हिमशिलाले सिंगारिएको पर्वतको दुनियाँ चाहार्नु एउटा स्वच्छन्द वातावरणको भोग गर्नु हो । अझ हिमाल माथिकै सिन्दुरे विहान, चहकिलो दिउँसो, सुनौलो साँझको रंग फेराईभन्दा मोहनी लाउने दृष्य अरु हुन सक्छन् र” ? (हेर्नुहोस् विपत्र विविध)

हाम्रो मात्र होइन विश्वको अमूल्य प्राकृतिक निधि हिमालको रणनीतिक लाभ जति नेपालले जति प्राप्त गर्न सक्थ्यो त्यति पायौँ त भन्ने बारेमा हालसम्म पनि राष्ट्रियस्तरमा किन बहस नभएको होला भन्दा एक नेपालीको हैसियतले उदेक लाग्छ र पिडाबोध हुन्छ । मनोरम उच्च हिउँशिखरहरुको आरोहण गर्ने लालसा प्रायः पश्चिममा मुलुकका साहसि पर्वतारोहीहरुको हुने गर्दछ ।

पर्वत एउटा अपरिमत कृयास्थल हो । पर्वतारोहणको मुख्य उद्देश्य मानिस र मुलुकहरु बीच, बाजी होइन बरु प्रकृतिसँग मानिसको बल, धैर्य, अनुशासन र आत्मविश्वस दाँज्नु हो । धर्तीमा पर्वत भएसम्म पर्वतारोहणको क्रम रोकिनेवाला छैन । आल्पस पर्वत (युरोप) हिजोआज ओइरिने पर्वतारोहीहरुको हुलको वर्णन गरेर साध्य छैन । अझ नेपालमा नचढिएका र नामविहीन कैयन चोखा हिमचुलीहरुले हाँक दिँदैछन् । त्यसैगरी आजको स्याटेलाइट युगमा सुरक्षाको नाममा त कही धार्मिक आस्थाका नाममा हालसम्म पनि केही हिमालहरु चढ्न प्रतिवन्धित छ । त्यसैगरी आजको स्याटेलाइट युगमा सुरक्षाको नाममा त कही धार्मिक आस्थाका नाममा हालसम्म पनि केही हिमालहरु चढ्न प्रतिवन्धित छन् । दशकौँ पुरानो पर्वतारोहण सम्बन्धी नियम कानुनहरु यथावत छन्, जसको पुनरावलोकनतर्फ सरकारको ध्यान गएको देखिँदैन ।

पर्वतारोहणमा सफलता प्राप्त गर्नुछ भने शेर्पाको सहयोग विना असम्भव छ । किनकि, चुनौतीपूर्ण हिमाली वातावरणमा सैयौपुस्तादेखि बस्दै आएकाले शेर्पाहरुको अनुवंश (जीन) मै फेरवदल (म्याटेसन) आएको अनुसन्धानहरुले पुष्टि गरेको छ । जसका कारण अन्य समुदायभन्दा शेर्पाको शरीरले बढी अक्सिजन अन्तलीन गर्ने क्षमता ।

पी.एन.एस. जर्नलमा प्रकाशित एउटा लेख अनुसार शेर्पाहरुको शरीरको कोषभित्र हुने माइटोक्राोन्ट्रिमा (जसलाई शरीरमा ऊर्जाको भट्टी पनि भनिन्छ)ले पश्चिमाहरुको भन्दा धेरै अक्सिजनलाई शक्तिमा परिणत गर्न सक्ने विशिष्ट क्षमता राख्छ त्यसैले शेर्पाहरुको शरीरको मांशपेशी कम अक्सिजनमा पनि धेरै काम गर्नसक्ने गरी बलिष्ठ बनेको हुन्छ ।

दूर्भाग्यवस, हाम्रा अझै शेर्पासँग सम्बन्धित यस्ता थुप्रै वैज्ञानिक अध्ययन र अनुसन्धानमा नेपालीको व्यक्तिगत वा संस्थागत संलग्नता भने नगण्य छ । संसारभरी पर्वतारोहणमा प्रसिद्धि कमाएको शेर्पाहरुको राज्यलाई अझसम्म पनि उचित सम्मान दिनसकेको छैन, र नयाँपिँढीका शेर्पाहरु आफ्नो उज्जल भविष्यका लागि विदेशमा भौतारिन बाध्य छन् ।

विदेशीहरुको बढ्दो सम्पर्कले त्यस्ता शेर्पा समुदायको रहनसहन तथा मौलिक, साँस्कृतिक क्रमशः लोपोन्मुख हुँदै गइरहेका छन् । विदेशीहरुका लागि नोराब ‘एड्भेञ्चर’ मात्र होइन कल्चर पनि एउटा विशिष्ट पर्यटक आकर्षण गर्ने प्रडक्ट हो भन्ने कुरा बिर्सनु हुँदैन । हिमाली समुदायको मात्र होइन, हिमालसँग जोडिएका विविध पक्षको अध्ययन र अनुसन्धानमा कमी साह्रै उदासिन छौँ ।

उदाहरणका लागि संसार भरीनै हिमाली क्षेत्र जलवायु परिवर्तनको अध्ययन अनुसन्धान विश्वकै लागि ठूलो आकर्षणको केन्द्र हो । इटालीको एउटा संस्थाले ‘पिरामिड’ नामको बैज्ञानिक हिमाली क्षेत्रको अध्ययन अनुसान्धान गर्न एउटा प्रयोगशालानै नेपालमा स्थापनाा गरेको थियो केही दशक अघि जसको हाल कुनै चर्चा नै छैन ।

हिमालय क्षेत्रको पर्यावरण, जलचक्र, जैविक विविधता, कृषि, पर्यटन, समुदाय र अर्थतन्त्रमा जलवायु परिवर्तनले वृहत्त असर सम्बन्धी अध्ययन अनुसन्धानमा हाम्रो अवस्था निम्छरो छ । स्थानीय समुदायको परम्परागत ज्ञानलाई विज्ञानसँग हमीले समन्वय गर्न कुनै प्रयासनै गरेका छैनौँ ।

हिमालसँग जोडिएका दर्शन, इतिहास, कला, संस्कृति, जीविकोपार्जनका विधि, सामुदायिक सहकार्यको उन्नयनलाई संश्लेषण गर्ने र विश्वव्यापी समसामयिक बहस र सैद्धान्तिक मान्यतासँग जोड्ने चासो हाम्रो संस्थाहरुलाई छैन ।

नेपालमा १६ हजार फिटभन्दा अग्ला पहाडहरुमा हिउँ नै हिउँ हुन्छ । तर त्यहाँ हामीले युरोपमा व्यापक मात्रामा गरिने स्किइङ, स्पोर्टस गतिविधि सञ्चालन गर्नुपर्छ भन्ने सोच नै राखेका छैनौ । अष्ट्रियामा विशेषगरी हिउँमा अनकौँ खेलकुदका कार्यक्रमहरु आल्पस पर्वतमा हुन्छन् जसले गर्दा स्थानीयस्तरमा बहुआयामिक असर परेको हुन्छ ।

भारत बेलायतको उपनिवेश हुँदा तिनीहरुले दार्जिलिङ, सिमला र देहरादून जस्ता पर्वतीय स्थलहरुलाई शैक्षिक संस्थाहरु तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरे जसको लाभ हालसम्म पनि भारतीयहरुले लिइरहेका छन् । तर दशकौँ अघि धनकुटा र इलामजस्ता सबै पूर्वाधार पुगिसकेका स्थानहरुले जति सम्भावना बोकेको छ त्यतिमात्रामा त्यसको अझसम्म उपयोग गर्न सकेका छैनन् । खप्तड, रारा र फोकसुण्डो ताल प्रचारप्रसारको अभावमा अनन्तसम्भावना बोकेको पर्यटकीय गन्तव्यमा सीमित संख्याका स्वदेशी तथा विदेशी पर्यटक पुग्छन् ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको देशश भनेर गर्व त हामी गर्छौँ, तर हिमालको वास्तविकता जान्ने हाम्रो अभिरुचि भएको पाइँदैन । अधिकांश नेपालीको हिमाल सम्बन्धी ज्ञानको दायरा साँघुरो छ र त्यस सम्बन्धी रुचि ज्यादै न्यून छ । भूगोलविद् डा. हर्क गुरुङ यस्ता व्यक्तित्व थिए जो त्रिबिबि नि.प्राध्यापन गर्दा होस् वा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा पनि अध्ययन अनुसन्धान गर्ने अभिरुचि भएकोले होला, उनी देशको कुनाकाप्चा चाहरेर त्यहाँको समग्र विषयमा अनुसन्धान गर्थे र उक्त कुराहरु उनको प्रकाशित ‘मैले देखेको नेपाल, विषय विविध’ र मिन्मेन्स अफ नेपाल (अंग्रेजी) जस्ता पुस्तकहरुमा पढ्न पाइन्छ । स–साना नानिहरुको दिमागमा हुर्काउँदै आएको सगरमाथाझैँ उचाइ बराबरको अहंकारको साटो स्कूल÷कलेजदेखि नै हिमाल सम्बन्धी अध्ययन र अध्यापनतर्फ प्रेरित गर्न हामी चुकेका छौँ ।

पर्वतारोहणमा विशेष दख्खल भएको शेर्पा समुदायले भूगोलको लाभ लिएर संसारभरी उनिहरुले मुलुकको छुट्टै पहिचान दिलाउन विशिष्ट योगदान दिएका छन् । हिमाल हुनुको फायदा आरोहणमा मात्रै नभई अध्ययन अनुसन्धानतर्फ पनि हामी उन्मुख हुनुपर्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000