Logo
Logo

तीन अर्ब लगानीमा ग्लोबल आइएमई बैंकको नयाँ भवन शिलान्यास


0
Shares

काठमाडौं । ग्लोवल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गरेका हुन् ।

करिव १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिव ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रिय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गरे । काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उनको भनाइ छ ।

उनले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौंको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताउनु भयो । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष ढकालले भने, ‘ग्लोवल आइएमई बैंकको केन्द्रिय कार्यालयको आज शिलान्यास भएको छ । सम्भवतः वाणिज्य बैंकहरूको केन्द्रिय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न कार्यालय भवनको आज शिलान्यास भएको छ । करिव १ लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिव ३ अर्ब रुपैयाँ लागत लाग्नेछ । मलाई लाग्छ, यो कमर्सियल बैंकको पूर्वाधारका हिसाबले एउटा साधनसम्पन्न भवन हुनेछ । काठमाडौंको एकदमै प्राइम एरियामा, उत्तरढोकामा यो भवन अवस्थित छ । यो भवन निर्माण सम्पन्न भएपछि एउटा आइकनिक भवनका रूपमा पनि स्थापित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । म सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, बैंकका सेयरधनी साथीहरू, कर्मचारी साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यहाँहरूको माया, साथ र सहयोग तथा बैंकप्रति देखाउनुभएको सद्भावका कारण आज हामीले काठमाडौंको एकदमै प्राइम ठाउँमा केन्द्रीय कार्यालयको शिलान्यास गर्न सकेका छौँ । आगामी दिनमा पनि हाम्रा नियमनकारी निकायहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक, ग्राहकहरू लगायत सबैबाट बैंकप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहनेछ भन्ने विश्वास लिएको छु ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिव ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोवल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताउँदै अब आफ्नै भवनबाट सेवा संचालन गर्ने उद्देश्यले भवन निर्माण थालिएको जानकारी दिए ।

हाल बैंकका केन्द्रिय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न सकिनेछ । रेग्मीकाअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रिय कार्यालयमध्ये अत्याधुनिक बनाइनेछ । नयाँ भवनले बैंकका केन्द्रीय स्तरका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

रेग्मीले भने, ‘ग्लोवल आइएमई बैंक करिव ५९ लाख ग्राहकहरूको माया, ममता र शुभेच्छाका कारण यति ठूलो बैंक बनेको छ । बैंकले सेवा प्रदान गर्ने सन्दर्भमा केन्द्रिय कार्यालयका विभिन्न विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्नसक्ने अवस्था थिएन । त्यसैले आज धनतेरसको दिन ग्लोबल आइएमई बैंकको अत्याधुनिक भवनको शिलान्यास तथा जग पूजा सम्पन्न भएको छ । करिव तीन वर्षमा सम्पन्न हुने यो भवनबाट ग्लोबल आइएमई बैंकका सम्पूर्ण केन्द्रीय स्तरका विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्ने गरी हामीले काम गर्नेछौँ । यस पावन अवसरमा सम्पूर्ण ग्राहकहरूले देखाउनुभएको माया, उत्साह र प्रेमका लागि म हार्दिक धन्यवाद दिन चाहन्छु । यो भवनलाई नेपालमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका भवनभन्दा पनि अत्याधुनिक भवनका रूपमा निर्माण गर्नेछौँ । यसमा तपाईंहरू सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’

बैंकले ग्राहकको विश्वास र सहयोगलाई आफ्नो सफलताको आधारका रूपमा लिँदै आगामी दिनमा पनि आधुनिक पूर्वाधार तथा गुणस्तरीय बैंकिङ सेवा विस्तारमा जोड दिने उनको भनाई छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000