Logo
Logo

गाईको पेटमुनि छिरेर मोक्षको कामना


0
Shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार (यमपञ्चक) को तेस्रो दिन आज बिहान वैदिक विधिपूर्वक गाईको पूजाआराधना गरी श्रद्धा र भक्तिभावका साथ ‘गाई तिहार’ मनाइएको छ । कार्तिक कृष्ण औँसीको पावन बिहानीपख श्रद्धालुहरूले स्नान गरी चोखो वस्त्र धारण गरेर घरको गोठमै पुगी गाईलाई लक्ष्मीको साक्षात स्वरूप मानेर पूजा गरेका हुन् । 

The current image has no alternative text. The file name is: cow-puja.jpg

हिन्दु सनातन परम्परामा गाईलाई केवल उपयोगी पशुका रूपमा मात्र नभई सम्पूर्ण व्रह्माण्डका ३३ कोटी देवीदेवताको वासस्थानका रूपमा सर्वोच्च स्थान दिइँदै आएको छ । आज बिहानै गाईलाई स्नान गराई सिङ र निधारमा रातो अक्षता, सिन्दूर र चन्दनको टीका लगाइएको थियो । गलामा ढकमक्क फुलेका पहेँला सयपत्री फूलका माला पहि¥याएर सेलरोटी, चामलको पिठोको परिकार, केरा, फलफूल, नुनिलो कुँडो र हरियो घाँस खुवाई गौमातालाई तृप्त पारिएको छ । 

जमिनको माटोमा लम्पसार परेर गाईका चार पाउको बीचबाट पेटमुनि घस्रिँदै पार हुने यो प्राचीन परम्पराले प्रकृतिका अगाडि मानव अहङ्कारको विसर्जनलाई दर्साउँछ । धार्मिक तथा पौराणिक मान्यताअनुसार गाईको पेटमुनिबाट तीन पटक छिर्दा मानव जीवनमा जानी–नजानी गरिएका सम्पूर्ण पाप नष्ट हुने, शारीरिक रोग व्याधि हटी आरोग्य प्राप्त हुने र मृत्युपश्चात जीवात्माले भयानक वैतरणी नदी सजिलै तरेर मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको छ ।

आज राजधानीलगायत देशभरका गोठहरूमा परिवारका बालक, युवादेखि ज्येष्ठ सदस्यहरू एकसाथ उपस्थित भएर गाईको सेवा र पूजामा संलग्न छन् । सनातन शास्त्रमा गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गहुँत र गोबरलाई ‘पञ्चगव्य’ भनिन्छ । यी सामग्री धार्मिक अनुष्ठानमा शुद्धीकरणका लागि मात्र नभई वातावरण सन्तुलन र मानव स्वास्थ्यका लागि अचुक औषधीय गुणले युक्त मानिन्छन् । कृषिप्रधान समाजमा गाईको गोबर मलको रूपमा र बाच्छा खेत जोत्ने गोरुका रूपमा प्रयोग हुने हुँदा नेपाली समाजको आर्थिक र जैविक जीवन नै गाईसँग अन्योन्याश्रित छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000