
काठमाडौं । भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कन नयाँ राहदानी मागेकी छन् ।
आउने डिसेम्बरमा बंगलादेश फर्कने योजनामा रहेकी उनले राहदानीका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित बंगलादेश दूतावासमार्फत आवेदन दिएकी हुन्।
उनका वकिलले सोमबार लन्डनमा बंगलादेशका शीर्ष कूटनीतिज्ञलाई पनि इमेल गरेर हसिनाका लागि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न अनुरोध गरेका छन्।
विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै हसिना २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भारत भागेकी थिइन्। त्यसयता उनी भारतमै लुकेर बसेकी छन्।
हसिनाले देश छाडेपछि गठित उनका राजनीतिक विपक्षी मोहम्मद युनुसको अन्तरिम सरकारले उनको राहदानी रद्द गरेको थियो ।
हाल बंगलादेशमा निर्वाचनमार्फत चुनिएका ताररिक रहमान प्रधानमन्त्री छन्।
हसिनाका सहयोगी अबु ओबैदा अरिनले हसिनाको मागलाई उनको घर फर्कने दिशामा एक प्रमुख कदम भनेका छन्।
उनका अनुसार सरकारले हसिनाको राष्ट्रिय पहिचानका कागजात खारेज गरेको छ । अब उनी बंगलादेशी नागरिकका रूपमा आफ्नो अधिकार पुनः प्राप्त गर्न चाहन्छिन् ।
जनवरी २०२५ मा जुलाई–अगस्टको विरोध प्रदर्शनका क्रममा भएको हत्याको सम्बन्धमा उनको साधारण राहदानी पनि खारेज गरिएको थियो ।
यस्तै अप्रिल २०२५ मा निर्वाचन आयोगले उनको राष्ट्रिय परिचयपत्र ब्लक गरेको थियो ।
पूर्वप्रधानमन्त्री हसिनालाई यसअघि नै मृत्युदण्डको सजाय सुनाइएको छ ।


















