काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

५ खेलबाट ८ अंक जोडेको काठमान्डु यस जितसँगै प्लेअफको निकै नजिक पुगेको छ। उता, चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा कायम छ।
चितवनको प्रयास असफल
काठमान्डुले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन। उनले ३५ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५५ रन बनाए।
यस्तै, डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रन बनाए। अन्य ब्याटरहरूमा कुशल मल्ल १३ रनमा आउट भए भने विवेककुमार यादव ४ रनमा रनआउट भए।
कप्तान सिकन्दर राजा २ रन बनाएर आउट भए। उनलाई यसै खेलमार्फत एनपीएलमा डेब्यु गरेका काठमान्डुका आइकोनिक खेलाडी गणेश गौतमले आउट गरेका थिए।
बलिङतर्फ काठमान्डुका सहान अराचिगेले २ तथा जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमले १–१ विकेट लिए।
रासिद र बलरहरूको उत्कृष्ट प्रदर्शन
त्यसअघि, कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले रासिद खानको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो।
काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए। १३ रनमै २ विकेट गुमाएको दयनीय अवस्थामा रासिदले विलियम बोसिस्टो र सहान अराचिगेसँग दुई महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।
यसअघि लुम्बिनीविरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रन बनाएर आउट भए। अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डु ३.५ ओभरमा १३–२ को दयनीय स्थितिमा पुगेको थियो।
तर, रासिद खानले विलियम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। बोसिस्टो २२ बलमा २७ रन बनाएर १०औं ओभरको तेस्रो बलमा आउट भए।
त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे। अराचिगेले २० बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३३ रन बनाए।
अर्धशतक बनाएलगत्तै रासिद पनि १६औं ओभरमा चितवनका कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए। ३० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाए। एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्धको खेलमा पनि ५० रन बनाएका थिए।
त्यसपछि कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै ७ बलमा ३ छक्का प्रहार गर्दै महत्त्वपूर्ण २० रनको योगदान दिए। १८औं ओभरको चौथो बलमा करण रिभ्युमार्फत एलबीडब्लु धरापमा परेका थिए।
त्यसबाहेक जहानदाद खान ९ र आदिल आलम ९ रन जोडेर आउट भए भने सन्तोष यादवले २ बलमा १ छक्का प्रहार गर्दै अविजित ८ रन जोडे।
बलिङतर्फ चितवनका लागि रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। कप्तान सिकन्दर राजाले ४ ओभरमा १९ र कमल सिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए। डान मोस्लीको नाममा १ विकेट रह्यो।


















