
काठमाडौं । इजरायलको नवनिर्वाचित संसद् (नेसेट) ले मंगलबार शपथग्रहण गरेको छ । संसद्मा बहुमत जुटाएको विपक्षी गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका निकट सहयोगीलाई प्रमुख संसदीय पदबाट हटाउने तयारी गरेको छ ।
राष्ट्रपति इसाक हर्जोगले १२० सदस्यीय संसदको पहिलो बैठक उद्घाटन गरेपछि नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले बहुमत गुमाएको थियो ।
निर्वाचनमा नेतान्याहु पक्षधर दलहरूले ५३ सिट प्राप्त गर्दा विपक्षी दलहरूले ६७ सिट जितेका थिए । शपथग्रहण समारोहअघि विपक्षी नेता गादी आइजेनकोटको याशार पार्टीले संसद्का सभामुख आमिर ओहानालाई पदबाट हटाउन ६१ भन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाएको छ ।
नेतान्याहुको लिकुड पार्टीका सांसद ओहानाको स्थानमा याशार पार्टीका सांसद माटान काहानालाई सभामुख बनाउने विपक्षीको प्रश्ताव छ । विपक्षी गठबन्धनले संसदीय समितिका प्रमुख पदहरूमा पनि आफ्ना उम्मेदवार तय गरेको छ । विदेश मामिला तथा रक्षा समितिको अध्यक्षमा दक्षिणपन्थी नेता अविग्दोर लिबरम्यानलाई प्रश्ताव गरिएको छ ।
त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको पार्टीकी सांसद लिरान अविसार बेन होरिनलाई अर्थ समितिको अध्यक्ष बनाउने सहमति भएको छ । उनी नियुक्त भएमा उक्त पद सम्हाल्ने इजरायलकी पहिलो महिला बन्नेछिन् ।
यसैबीच, राष्ट्रपति हर्जोगले आइतबार पूर्वसैनिक प्रमुखसमेत रहेका आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । उनलाई सरकार गठनका लागि २८ दिनको समय दिइएको छ । आवश्यक परे थप १४ दिन समय उपलब्ध गराउन सकिनेछ । नयाँ सरकार गठन भई कार्यभार सम्हालेसम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा रहनेछन् ।


















