मकवानपुर । सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्थे । दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो । त्यसपछि उनले अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला ।

त्यो २०४५ सालतिरको कुरा हो । हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे । सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो । हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर अगाडि सडकपेटीमा बसेर बिरुवा बेचिरहन्थे । राति अबेरसम्म ग्राहक पर्खिँदै उनी समय बिताउँथे । जाडो बढ्दा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किएको नमिठा यादहरू उनीसँग छन् ।
त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनीबोटबिरुवामा आफ्नो भविष्य देखिइरहेका थिए । आफूले बेचेको विरुवाबाट कसैले फल प्राप्त गरिरहेका हुन्थे, कसैले आफ्नो घर आँगन हरियो बनाउँथे त कसैले खेतमा आम्दानीको स्रोत बढाइरहेका हुन्थे । जीवनका विभिन्न ३७ वर्ष हरिशरणले माटो र बोटविरुवासँगै बिताइरहँदा आज उहाँको परिचय ‘गौतम नर्सरी’को सञ्चालकका रूपमा स्थापित बनेको छ । सडकपेटीबाट सुरु भएको उहाँको यात्रा आज विश्वासिलो व्यावसायिक पहिचानमा परिणत भएको छ ।
मकवानपुरको हाडीखोलामा उनको पुख्र्यौली परिवार कृषि कर्ममै निर्भर थियो । पछि परिवार हेटौँडा बजारतर्फ स¥यो तर पनि हरिशरण र उनको परिवार खेती र बिरुवासँगको सम्बन्धमा रहिरह्यो । उनले सानैदेखि बोटबिरुवा स्याहार्न सिक्नुभयो । विद्यालय पढ्दै गर्दा बिरुवा उत्पादन र बिक्रीतर्फ चासो राख्न थाले । त्यतिबेला उनका बुबाले पाँच रुपैयाँमा दुई वटा कागतीका बिरुवा बेच्थे । हरिशरण पाँच वटा तरकारीका बिरुवा एक रुपैयाँमा बेचेथे । अहिले त्यो मूल्य सुन्दा सामान्य लाग्न सक्छ तर त्यही सानो कारोबारबाट सुरु भएको हरिशरणको व्यावसायिक नर्सरी यात्राले आज यसरी झाङ्गिन पाएको हो ।
हरिशरण विगतका आफ्ना सुरुआती कर्मका दिन झल्झली सम्झन्छन् । उनका बुवाले ग्राहकलाई ‘तीन वर्षपछि फल्छ’ भन्दै कर गरेर बेच्ने गरेका कागतीका बिरुवामध्ये कतिपय आज ३०–३५ वर्षपछि विशाल भएका छन् । एउटै बोटमा ७०–८० किलोदेखि एक क्विन्टलसम्म कागती फलिरहेको उनी सम्झन्छन् । अझ उनलाई रमाइलो लाग्ने कुरा त के छ भने ती बिरुवा किन्ने परिवारका सन्तान र नातिनातिनासम्म अहिले गौतम नर्सरीमा बिरुवा लिन आइपुग्छन् । एउटा बिरुवासँग सुरु भएको विश्वास पुस्तान्तरण हुँदै गएकामा उनी दङ्ग पर्छन् ।
हरिशरणको सफलताको जगमा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण छ । बुबा तरकारीको काम गर्थे । उनी भने फूल तथा अन्य बिरुवाको काम गर्थे । बुबाले बिरुवा सार्दा उनीले पानी हाल्थे, बुबाले बिरुवा मिलाउँदा उनले टोकरीमा प्याक गर्थे । उन्लाई बोटविरुवाको काम गर्न बुबाले भनिरहनुपर्दैन थियो । “कसैले कसैलाई अह्राउनु पर्दैनथ्यो । आ–आफ्नो काम स्वतन्त्र भएर गथ्र्यौं”, उनी ती दिन सम्झन्छन् । यही स्वतन्त्रता र पारिवारिक सहकार्यले उहाँलाई व्यवसायप्रति थप जिम्मेवार बनाउँदै लग्यो ।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडामा २०५०/५१ सालतिर उहाँको व्यवसाय दर्ता भयो भने २०५२ सालमा आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर लिएर नर्सरीलाई औपचारिक व्यावसायिक स्वरूप दिए तर व्यवसायलाई औपचारिक बनाउनु र त्यसलाई टिकाउनु सजिलो कुरा थिएन । देशमा सशस्त्र द्वन्द्व थियो । रोजगारीका अवसर सीमित थिए । विदेश जाने लहर बढिरहेको थियो । हरिशरणलाई पनि विदेश जान धेरैले सुझाए । “यहाँ बुबाले धानिहाल्नुहुन्छ । विदेश गए मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ” चिनजानका मानिसहरूले उनलाई भनेका थिए । तर उनलाई गाउँघरबाट टाढा हुन मन लागेन । यसमा उहाँको आफ्नै सोच थियो कि विदेशमा पैसा कमाउन सकिए पनि वृद्ध बाबुआमा, दिदीबहिनी र आफ्ना मान्छेहरूबाट टाढा हुनुपर्थ्यो । दसैँ, तिहार र तीजजस्ता चाडपर्व परिवारसँग मनाउने अवसर छुट्थ्यो । त्यसैले उनले विदेशको राम्रो कमाईभन्दा पनि आफ्नै माटो रोजे । उनलाई विश्वास थियो–मेहनत गर्ने हो भने आफ्नै ठाउँमा पनि त्योभन्दा बढी कमाउन सकिन्छ । तत्कालीन समयमा उनले लिएको यही निर्णय नै वास्तवमा आज व्यावसायिक सफलताको आधार बनेको छ । माटो र बोटबिरुवासँग रमाएको यो ३७ वर्षमा उहाँले पैसा मात्रै कमाउनु भएन, अनुभव पनि हासिल भयो । उनले विभिन्न क्षेत्रका मानिस तथा कार्यालयहरुसँग सम्बन्ध पनि बनाउनुभयो । नर्सरी व्यवसायमा आफ्नो छुट्टै पहिचान पनि बनाउन सफल भए ।
हेटौँडा–१० मेनराडमै रहेको उहाँको नर्सरीमा आजभोलि दैनिक औसत ५० देखि ६० जना ग्राहक पुग्छन् । उनी बिरुवा बेचेर मात्रै बस्नुहुन्न । किसान वा सेवाग्राहीलाई बिरुवासम्बन्धी समस्या परे उनी फिल्डमै पुगेर आवश्यक सल्लाह दिन्छन् । कुन ठाउँमा कुन बिरुवा उपयुक्त हुन्छ, कसरी रोप्ने, कसरी हुर्काउने र कसरी उत्पादन लिने भन्ने विषयमा उनी अनुभव अनुभव बाँड्छन् ।
वर्तमानमा गौतम नर्सरीबाट वार्षिक करिब १५ देखि २० लाख रुपैयाँको कारोबार हुन्छ । विगतमा भाडामा लिइएको डेढ कठ्ठा जग्गा अहिले आफ्नै नाममा छ । त्यहाँ उनले अहिले बलियोे घर पनि बनाएका छन् । व्यवसाय सुरुआत ताका चार हजारको लगानी अहिले १५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । अरू पेसामा जस्तो एकैपटक प्रसस्त आर्थिक आम्दानी गर्न नसकिए पनि नर्सरीबाट आत्मनिर्भर भई खुसीका साथ परिवार चलाउन सकिने उनको अनुभव छ । बिहान उठेदेखि बेलुका नसुतुञ्जेलसम्म हरिशरण आफ्नो नर्सरीका बोटबिरुवासँगै रमाउँछन् । फूल, फलफूल, जडीबुटी, तरकारी र सजावटका बिरुवाहरुको हेरचाह, गोडमेल, काँटछाँट, पानी हाल्नेजस्ता कार्यमा उनको दिन बित्छ ।
अहिले हरिशरणको नर्सरीमा मौसमी तथा सदाबहार फूलहरू सयपत्री, गोदावरी, लाहुरे, पिटुनिया, सेतोचाँप छन् भने फलफूलहरूमा सधैँ फल्ने आँप, काजु, जामुन, सपाट, लिचि, मलेसियाबाट आउने रामबुतान, थाइल्याण्डबाट आउने क्यान्सर किलर, ब्याकबेरी, कम चिसोमा पनि फल्ने स्याउलगायत छन् ।
यस्तै, जडीबुटीहरुमा रक्तचन्दन, ल्वाङ, जाइफल, अश्वगन्धा, सर्पगन्धा, दालचिनीका बिरुवा छन् भने तरकारीमा काउली, बन्दा, गोलभेडा, भन्टा, लसुन, प्याज, आलुका बिरुवा रहेका छन् । नर्सरीमा एरिका पाम, चाइना पाम, चाइना डल, लक्मी, बेम्बो, सेफ लेरिया, सिमोनी,एग्लोनिमा, फिलोरेण्डम, क्रिसमट ट्रीलगायत घरआँगन तथा विभिन्न कार्यालयमा सजावटका लागि राखिने बोटबिरुवालाई उड तथा स्टोन क्राप्टमार्फत आकर्षक बनाएर राखिएका छन् ।
हेटौँडाका करिब १० वटा नर्सरीले समग्रमा वार्षिक तीनदेखि चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनको भनाइ छ । हरिशरणको सोच आफ्नै नर्सरीमा मात्र सीमित छैन । उहाँ मकवानपुरका विकट गाउँमा रोजगारी र आम्दानीको विकल्प खोजिरहेको सुनाउँछन् । कैलाश, राक्सिराङ र मनहरीका केही क्षेत्रमा क्षणिक लाभका लागि गाँजा र अफिमखेतीमा मानिस लाग्ने गरेकोप्रति उनलाई दुःख लाग्छ । यसैले त त्यस्ता ठाउँका जग्गामा राम्रो मेहनत गरेर बोटबिरुवा हुर्काउन पाए ढुक्कले आम्दानी गर्न सकिने उनको भनाइ छ ।
कानुनी जोखिममा रहेर गरिने कामभन्दा टाढा रहेर त्यही जमिनबाट प्रशस्त लाभ लिनेगरी काम गर्न सकिने उनी सुझाव दिन्छन्, “यदि त्यही जमिनमा दीर्घकालीन आम्दानी दिने वनस्पति र फलफूल लगाउन सकिन्छ भने किन जोखिमपूर्ण बाटो रोज्ने रु”
नर्सरी व्यवसाय वर्षको वा केही महिनाको नभएको उनको तर्क छ । “यो व्यवसाय भनेको त ३६५ दिनको कर्म हो । जन्मदेखि मृत्युसम्म, विवाहदेखि नयाँ घर निर्माणसम्म, उत्सवदेखि सरकारी कार्यालयको सजावटसम्म हरियाली र फूलको आवश्यकता पर्छ”, उनले भने ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयमा समेत गौतम नर्सरीबाट बिरुवा तथा बगैँचा व्यवस्थापनको काम भइरहेको छ ।
जीवनमा आफ्नो पेसामा सधैँ सफलताको मात्र पाइन्न भन्ने उक्ति हरिशरणमा पनि लागू हुन्छ । विसं २०६२/६३ देखि २०६५/६६ सम्म उनले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत हेटौँडा–५ मा अवस्थित पुष्पलाल स्मृति पार्क पोखरीको व्यवस्थापनको जिम्मा लिए । पोखरीमा वर्षभरि पानी जमाउने, डुङ्गा चलाउने, माछापालन गर्ने र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउने उनको सपना थियो । यही सपनाअनुसार उनले पोखरीमा १७ हजार मागुर माछाका भुरा हाल्नुभयो तर बर्खाका कारण पोखरी ओभरफ्लो भयो । उनका सबै माछा बगेर गए, माछासँगै उनका सपना त्यससँगै बगेर गए ।
माछापालनको सपना वर्षाका कारण अधुरो रहे पनि उनमा सम्भावनाका अरू कर्म गर्नुपर्छ भन्ने सोच जीवितै थियो । यसपछि उहाँले अर्को महत्त्वाकाङ्क्षी काम थाले । उनले त्यहाँ वर्णानुक्रमअनुसार ५२५ जातका दुर्लभ जडीबुटी रोपे । प्रत्येक बोटमा नेपाली, संस्कृत, अङ्ग्रेजी र वैज्ञानिक नाम लेखिएका एल्युमिनियमका प्लेट त्यहाँ राखिएका थिए । उनको परिकल्पना थियो कि त्यो ठाउँ नयाँ पुस्ता, वन विज्ञान र कृषि अध्ययन गर्ने विद्यार्थीका लागि खुला हर्बेरियम म्युजियम बनोस् तर उनले सोचेजस्तो पर्याप्त संस्थागत सहयोग मिलेन ।
सुरक्षाकर्मीको सरसफाइ अभियानका क्रममा जडीबुटीका बिरुवा पनि झाडी ठानेर काटिए । उनले देखेको ठूलो सम्भावनाको योजना समाप्त भयो । यति हुँदा पनि उनी त्यो बेलाको साक्षी बनेर बाँचेको रक्तचन्दनको एउटा रुख देख्न पाउँदा आफूलाई खुसी महसुस गर्छन् । काटिएर ठुटो बनेको त्यो बिरुवा फेरि हुर्कियो । आज पनि त्यहाँ उभिएको त्यो रक्तचन्दनले तराई–मधेसको भूगोलमा पनि यस्तो वनस्पति हुर्कन सक्छ भन्ने प्रमाण दिइरहेको उनी बताउँछन् । हरिशरणका लागि त्यो सपना असफलताभन्दा पनि सिकाइ बन्न पुगेको छ ।
उनले मकवानपुरको कैलाशमा बुद्धचित्तको राम्रो सम्भावना देखेका छन् । यसमा एउटै बोटबाट ११ लाख रुपैयाँसम्मको उत्पादन भएको उदाहरणसमेत उनले देखेका छन् ।
यस्तै, जिल्लाकै राक्सिराङ र मनहरीमा काजु खेतीको पनि सम्भावना रहेको उनी बताउँछन् । चार–पाँच वर्षपछि एउटै काजुको बोटबाट करिब २० किलो उत्पादन लिएर वार्षिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।
मनहरी र राक्सिराङमा रातो केराको सम्भावना पनि उनले देख्छन् । करिब १८ महिनामै उत्पादन लिनसकिने यस्ता बाली किसानका लागि उपयोगी हुनसक्ने उनको बुझाइ छ । १५ देखि २० वर्षमा तयार हुने रक्तचन्दन र अगरउडजस्ता बहुमूल्य वनस्पतिलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनी बताउँछन् ।
त्यस्तै, सिम्भञ्ज्याङ र चुनियाँजस्ता चिसा लेकाली क्षेत्रमा किबी र तल्लो भेगमा ड्रागन फ्रुटको व्यावसायिक सम्भावना स्थापित भइसकेको उनको भनाइ छ ।
सरकारले किसानलाई परम्परागत शैलीमा सिसौ, खयर वा चदुई–चारवटा आँप र लिचीका बिरुवा बाँडेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु नहुने उनले बताए । अनुदानभन्दा निर्ब्याजी ऋण, तालिम, प्रारम्भिक रूपमा व्यावसायिक हिसाबले लाग्न खोज्ने किसानलाई केही आर्थिक सहयोग दिएर गाउँमै व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
“त्यसो गर्नसके आफ्नै गाउँठाउँको माटो मलिलो हुन्थ्यो, हरिया बोटबिरुवाले गाउँघर हरियाली बन्थ्यो भने रोजगारीका लागि कुनै पनि नेपाली युवा बाध्य भएर विदेश जानु पर्दैनथ्यो”, उनले भने ।


















