
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत आरोपितहरू छुट्न थालेपछि उनले भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पु¥याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण गर्नेहरू नै सत्तामा पुगे पनि भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि नबढेको टिप्पणी गरेका हुन् । ‘नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पु¥याउन सकेको छैन’, उनले लेखेका छन् ।
हिजोको सरकारले कारबाही गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत छुटिसकेको उल्लेख गर्दै उनले थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्दै प्रश्न गरेका छन् । ‘नयाँ फाइल किन तयार भएन ? दोषीमाथि थप कारबाही किन भएन ?’ शाहीले प्रश्न गरेका छन् ।
आजमात्रै भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा दोषाी ठहर भएर जेल जीवन बिताइरहेका एमाले नेता रायमाझी आज रिहा भएका छन् ।


















