काठमाडौं । विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको हो । आफ्नो टी-२० करियरको उत्कृष्ट बलिङ गरेका सन्दीपले जारी एनपीएलमा पहिलो ह्याट्रिक गरेका हुन् ।
सन्दीपले १५औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । १५औँ ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाचौँ बलमा किरण ठगुन्नालाई पेभेलियनको बाटो देखाउँदै सन्दीपले ह्याट्रिक विकेट लिएका हुन् । उनले आफ्नो स्पेलमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।
त्यसअघि ११औँ ओभरको दोस्रो बलमा सन्नी विके र चौथो बलमा रमेश मेन्डिसलाई आउट गरेका थिए। सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई आउट गराएका थिए ।
पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्का सहयोगमा ८४ रन बनाउँदा सन्दीपको बलमा उडानाको हातबाट क्याच आउट भए । धनन्जय लक्षण २२ रनमा रनआउट भए । सन्नी विकेले १२ रन थपे । पोखराका अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।


















