
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा समावेशितासँगै युवा सहभागितालाई अनिवार्य बनाएको छ । पार्टीले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार छनोट हुने प्रतिनिधिमध्ये कम्तीमा एक जना ४० वर्षमुनिका युवा हुनुपर्नेछ । त्यस्तै, महिला, उत्पीडित समुदाय तथा विभिन्न जातीय र सामाजिक समूहको प्रतिनिधित्व सुनिश्चित हुने गरी प्रतिनिधि छनोट गरिनेछ ।
निर्धारित मापदण्डअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३ जना महिला, उत्पीडित समुदायबाट १ जना र आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी २ जना छनोट गरिनेछ । बाँकी प्रतिनिधि पनि पार्टीका सक्रिय सदस्यहरूमध्येबाट छनोट हुनेछन् ।
राप्रपाले प्रतिनिधि छनोटमा कुनै क्षेत्र र समुदायको सहभागिता नछुटोस् भन्ने उद्देश्यले विधान तथा निर्देशिकाअनुसार प्रक्रिया अघि बढाउने जनाएको छ । हिमाल, पहाड र तराईको जनसंख्यागत तथा क्षेत्रगत प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरू प्रतिनिधि छनोटका लागि योग्य हुनेछन् ।
प्रतिनिधि छनोटका लागि पार्टीले मंसिर ४ देखि १० गतेसम्मको समयसीमा तोकेको छ । उक्त अवधिभित्र योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट गरिसक्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशनमा स्थानीय तहदेखि प्रदेश तहसम्मका पार्टी अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था गरिएको छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् । उनीहरूबाहेकका प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने पार्टीले जनाएको छ ।
यसपटकको प्रतिनिधि छनोटमा युवा सहभागितालाई अनिवार्य बनाउनु र विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न खोज्नुलाई राप्रपाले महाधिवेशनलाई थप समावेशी बनाउने प्रयासका रूपमा लिएको छ ।


















