काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले संगठन सुदृढीकरण र मतदातासँगको सम्बन्ध पुनःस्थापनाका लागि मंसिर १ गतेदेखि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । ‘हामी तयार छौं’ नाम दिइएको एकमहिने अभियानमार्फत कांग्रेस गाउँ, वडा र टोलसम्म पुग्ने तयारीमा जुटेको हो ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान मंसिर महिनाभर चल्नेछ । अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरू परिचालन गरी देशभरका वडा तहसम्म संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ । यसका लागि वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि र अन्य नेता–कार्यकर्तासहित झण्डै तीन लाख जनशक्ति परिचालन गर्ने कांग्रेसको तयारी छ ।
अभियानलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीसँगै पार्टीको आन्तरिक रूपान्तरण र संगठनात्मक प्रभावकारिता बढाउने अवसरका रूपमा लिइएको छ । पार्टीको नीति, विधान, जिम्मेवारी र १५औं महाधिवेशनबाट पारित नीतिगत तथा सांगठनिक निर्णयहरू नेता–कार्यकर्तामार्फत समुदायस्तरसम्म पु¥याउने कांग्रेसको योजना छ ।
अभियानमा उम्मेदवार छनोट प्रक्रियालाई विशेष प्राथमिकता दिइनेछ । स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा पार्टीका सदस्यहरूको सहभागिता र अधिकार, प्राइमरी प्रक्रियाको अवधारणा तथा विधानमा गरिएको व्यवस्थाबारे नेता–कार्यकर्तालाई जानकारी गराइनेछ । उम्मेदवार बन्न चाहने व्यक्तिदेखि पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालेका नेतासम्मलाई जनतामाझ पुग्नुपर्ने सन्देश अभियानले दिनेछ ।
कांग्रेसले संगठनभित्र देखिएका कमजोरी सुधारलाई पनि अभियानको महत्वपूर्ण कार्यसूची बनाएको छ । पार्टीका बैठक सञ्चालन गर्ने विधि, मर्यादाक्रम, आसन ग्रहण, कार्यक्रम व्यवस्थापन र छलफललाई विषयकेन्द्रित बनाउने विषयमा प्रशिक्षण दिइनेछ । कार्यक्रम समयमा सुरु गर्ने, अनावश्यक रूपमा लामो नबनाउने, प्राथमिकताका आधारमा छलफल गर्ने र स्थानीय मुद्दालाई पार्टीका निर्णय प्रक्रियासँग जोड्ने अभ्यास अघि बढाइनेछ ।
त्यस्तै, पार्टीबाट पछिल्लो समय टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्ने विषयलाई अभियानको अर्को महत्वपूर्ण पक्षका रूपमा राखिएको छ । विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्ला निर्वाचनमा अन्य दल रोजेका मतदातासम्म पुगेर उनीहरूका गुनासा, असन्तुष्टि र अपेक्षा बुझ्ने योजना छ । यसका लागि नेता तथा कार्यकर्तालाई मतदाताको घरदैलोसम्म पुगेर संवाद गर्न परिचालन गरिनेछ ।
सभापति गगनले यसअघि नै पार्टीलाई मत नदिएका मतदातालाई दोषारोपण गर्नुभन्दा उनीहरूका प्रश्न र असन्तुष्टिको कारण खोज्नुपर्ने रणनीति अघि सारेका थिए । उनले काम गर्ने तरिका पनि बदल्नुपर्ने बताउँदै आएका छन् ।
पार्टीसँग लामो समयदेखि जोडिएका तर पछिल्लो समय टाढिएका मतदाताको विश्वास पुनः जित्ने प्रयास अभियानको प्राथमिकतामा रहनेछ । कांग्रेसले पार्टीभित्र पुस्तान्तरण र पुस्ताबीचको अनुभव आदानप्रदानलाई पनि जोड दिने भएको छ । नयाँ र पुराना पुस्ताका नेता–कार्यकर्तालाई समेट्दै महिला, विभिन्न जातजाति, भाषाभाषी तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई स्थानीय निर्वाचनको तयारीसँग जोडिएको छ ।
यसअघि सभापति थापाले कात्तिक १२ गते निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । कात्तिक १० गते पोखरामा आयोजित कार्यक्रममा पनि उनले पार्टीबाट टाढिएका मतदातासँग पुनः संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
१५औं महाधिवेशनपछि नयाँ नेतृत्वसहित अघि बढेको कांग्रेसले ‘हामी तयार छौं’ अभियानलाई संगठन विस्तार र जनसम्बन्ध सुधारको माध्यम बनाउन खोजेको छ । आगामी स्थानीय निर्वाचनमा बलियो उपस्थिति बनाउने, पार्टीका आन्तरिक संरचनालाई प्रभावकारी बनाउने र प्रमुख प्रतिपक्षी दलका रूपमा आफ्नो भूमिका सशक्त बनाउने लक्ष्यसहित कांग्रेस अब केन्द्रमुखी गतिविधिबाट गाउँ र वडातर्फ केन्द्रित हुने तयारीमा छ ।


















