काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको च्याम्पियन लुम्बिनी लायन्स तेस्रो संस्करणको पनि फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सलाई सहजै हराउँदै लुम्बिनीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको छ । यस जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल प्रवेश गर्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो ।
हारका बाबजुद सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।
लुम्बिनीको जितमा विकेटकिपर निरोशन डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ५९ रन जोडे । यस्तै, कप्तान रोहित पौडेलले २८ बलमा १ चौकाको मद्दतले २१ रनको योगदान दिए ।
२४ रनमा २ विकेट गुमाएर दबाबमा परेको लुम्बिनीका लागि डिकवेला र कप्तान रोहितले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
त्यसअघि ओपनर डार्सी सर्ट शून्यमा आउट हुँदा आसिफ शेख ४ रन मात्र बनाएर पभेलियन फर्किए । सन्दीप जोरा ८ रनमा आउट भए भने विजयी छक्का प्रहार गरेका दिलीप नाथ १२ बलमा अविजित १० रनमा रहे । सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले अन्तिम ओभरमा आउट हुनुअघि ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । इशानले ३३ बलमा ३ चौकाको मद्दतले २७ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस सिजन पहिलो खेल खेलिरहेका स्कटिस ओपनर जर्ज मन्से खेलको पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात खराब रह्यो । यस्तै, सिजनको पहिलो खेल खेलिरहेका अर्का खेलाडी तानुका दाबारे पनि तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानकै बलमा विकेटकिपर डिकवेलाबाट क्याचआउट भए ।
पहिलो स्पेलमै ३ ओभर बलिङ गरेका ट्रम्पलम्यानले मात्र ७ रन खर्चेर २ विकेट लिएका थिए । लगत्तै अभिशेष गौतमले ओपनर विनोद भण्डारीलाई डिकवेलाबाटै क्याचआउट गराएपछि सुदूरपश्चिम ३.१ ओभरमा ८–३ को नाजुक अवस्थामा पुगेको थियो ।
दबाबका बीच दीपेन्द्र र इशानले सुदूरपश्चिमको इनिङ्स सम्हाले पनि १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि साझेदारी टुट्यो । त्यसपछि आएका थरिन्दु रत्नायकेलाई १६औं ओभरको पहिलो बलमै शेर मल्लले बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाएर शेर मल्लकै बलमा डार्सी सर्टबाट समातिए ।
एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा किशोर महतोको बलमा सर्टबाटै क्याचआउट भए । स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए भने अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका लागि बलिङमा ट्रम्पलम्यानले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट हात पार्दा किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए ।


















