काठमाडौं । काठमाण्डू गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको क्वालिफायर्स २ मा प्रवेश गरेको छ ।

यो जितसँगै चितवनले क्वालिफायर्स २ मा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ । एनपीएलको इतिहासमा टोली पहिलोपटक क्वालिफायर्स २ पुगेको हो । यसअघि चितवनले पहिलो सिजन इलिमिनेटरसम्म खेलेको थियो भने दोस्रो सिजन लिग चरणसम्म खेलेको थियो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउसक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो। यो यस सिजन एनपीएलमा कुनै पनि टोलीले बनाएको २०० रनभन्दा माथिको तेस्रो योगफल हो। साथै, यो यसै सिजन लिग चरणमा काठमान्डुविरुद्ध बनाएको १७० रनको आफ्नै उच्च स्कोरभन्दा धेरै माथि छ।
टिमको स्कोर २२ रनमै ओपनर देव खनाल (१७) र डेविड मालान (०) लाई गुमाएको चितवनका लागि कमिल मिशारा र कप्तान रवि बोपाराले इनिङ्स सम्हालेका थिए। मिशाराले ५९ बलमा ५ चौका र १० छक्कासहित अविजित १२० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। यो उनको करियरको तेस्रो टी-२० शतक हो।
त्यस्तै, रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। मिशारा र बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको कीर्तिमान साझेदारी भयो। एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च र समग्रमा तेस्रो ठूलो साझेदारी हो। काठमान्डुका कप्तान करण केसी र रासिद खानले समान २-२ विकेट लिए।
२०५ रनको विजयलक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको काठमान्डुले भने पूरै २० ओभर खेले पनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।
शुरुवातमै विकेट गुमाएको काठमान्डुले कुनै पनि चरणमा ठूला साझेदारी गर्न सकेन। विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए भने अन्त्यमा क्रिजमा आएका भीम सार्कीले १७ बलमा ३ छक्का प्रहार गर्दै अविजित ३० रन जोडे। त्यस्तै, सहान अराचिगेले २४ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
चितवनको कसिलो बलिङसामू काठमान्डुस्तारै धराशायी बन्यो। चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए। उसामा मिरले पनि ४ ओभरमा १५ रन मात्र दिएर ३ विकेट हात पारे भने कुशल मल्ल र सलाउद्दिन खानले १-१ विकेट लिए।


















