काठमाडौँ । वैदेशिक रोजगारीका नाममा श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरेको तथा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ।

ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको जानकारी दिएको छ।
यस्तै, पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ रहेका छन्।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत श्रमिकहरूबाट गैरकानूनी रूपमा असुल गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८०.८० बेलायती पाउण्ड (कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ) मलेसिया पठाउने निर्णय गरी देशको अर्थतन्त्रमा नोक्सानी पुर्याएको आरोप उनीहरूमाथि छ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर ज.ब.रा. ले जानकारी दिएका छन्।


















