
ताल्येनबाट पैचिङ पुग्दा हाम्रो अवस्था र भूमिका फरक भइसकेको थियो । पैचिङमा जम्मा तीन दिनको मात्र समय थियो । पुग्नेबित्तिकै व्यस्त भयौँ । हामीलाई होटेलमा पु¥याइदिनको निम्ति तत्कालीन नेपाली राजदूत लीलामणिजीले दूतावासकै गाडी पठाइदिनुभएको थियो । त्यो पहिलो साँझ नै चिनियाँ मित्रहरू हाम्रो होटेलमै भेट्न आए ।
हिमाल वारिपारि स्वास्थ्य सेवाको बारेमा सरोजले राखेका प्रस्तावहरुबाट प्रभावित ती मित्रहरू हामीलाई भेट्नै भनेर ल्हासादेखि पैचिङ पुगेका थिए– अरू चार जनासमेतको टोली लिएर । उनीहरुको त्यो न्यानो व्यवहारले सरोजसँगै म पनि भावुक बनेकी थिएँ । हामी बसेकै होटेलमा सँगै खाना खायौं– निम्तो भने उनीहरुको भयो ।
दोस्रो दिन चीनमा रहेको नेपाली राजदूतावासमा दिनभरको कार्यक्रम थियो । ल्हासादेखि आएको टोलीसँग राजदूतज्यूकै उपस्थितिमा दिनभरि कुराकानी भयो र बेलुकीको भोजन पनि त्यहीँ ग¥यौँ । अनेक महत्वपूर्ण योजनाका कुरा भएका थिए । हिमाल वारिपारिका दूरदराज गाउँहरुमा स्वास्थ्यसेवा पु¥याउने कुरा आफैँमा सुन्दर कुरा थियो । तर कार्यान्वयन भने केही पनि हुन सकेन । हुन नसक्नुका अनेक कारणमध्ये नेपालको राजनीतिक अस्थिरता र विकट क्षेत्रको स्वास्थ्यका बारे संवेदनशीलता हुनुपर्ने ठाउँमा नहुनु नै शायद मूल कारण थियो ।
हामी विद्यार्थी भएको बेलाको चीन र सन् २०१७ को चीनको तुलना गर्नै मिल्दैन थियो । उनीहरुको मिहिनेतले चीनलाई विश्वमै अग्रस्थानमा पु¥याइसकेको थियो । सम्झनाको त्यो चीन सम्झँदै आँखा अगाडिको यो चीनलाई देख्दा हामी चकित भयौँ । भरखरैको एउटा भेटमा चीनमा पढ्दा ताकाका एकजोडी साथी भन्दै थिए– “अहिलेका चिनियाँहरुलाई त्यो पुरानो अवस्थाको चीन सम्झन पनि मन लाग्दैन होला ”। त्यो सुन्दा एकछिन् त मनमा प्रश्न पनि आयो– चिनियाँहरुले यो लेख पढे भने के भन्लान् त ?
यसपटकको चीन भ्रमणमा त्यहाँको परिवर्तन देख्दा अझै रमाइलो लाग्यो । हुन त नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलमा केही वर्षअघि त्यहाँ पुग्दाको अनुभवले चीनको यो परिवर्तनको गतिका निम्ति म मानसिक रूपमा तयार नै थिएँ । सरोजलाई भने अझै अचम्म लागेको हुनुपर्छ । हाम्रै जीवनमा पनि ठूलै परिवर्तन आइसकेछ । कहाँ त्यो बेलाका युवा विद्यार्थी, कहाँ वृद्धावस्थामा प्रवेश गर्न थालेको अहिलेको स्थिति ! कहाँ छात्रवृत्तिमा पढ्दै गरेका विद्यार्थीहरू, कहाँ समान हितका निम्ति मिलेर के गर्न सकिन्छ भनेर सल्लाह गरिरहेको पाको मान्छे !
अर्को दिन चीनका केही प्रख्यात साहित्यकारसँगको भेटघाट भयो । चीनका लागि राजदूतका रूपमा प्रस्थान गर्ने तयारी गरिरहनुभएका डा. कल्याण शर्माले नै यो भेटघाटको बन्दोबसत मिलाइदिनुभएको थियो । चीन र नेपालका साहित्य, कला, स्रष्टा, आदिका बारेमा गफगाफ हुनु स्वाभाविक थियो ।
चीनको ऐतिहासिक गृष्म प्रासादभित्रको “अक्टोबर समूह” नामको साहित्यिक संस्थाको अवलोकन गर्न र नोबेल पुरस्कार पाउने मो यानको उपन्यासको पाण्डुलिपि हेर्न पाउनुले विगतमा बाँकी रहेका इच्छाहरु पनि पूरा गरिदिएको महसुस भयो ।
अझै थप रमाइलो भयो । साँझ पैचिङको ऐतिहासिक “पेकिङ डक” रेष्टोराँमा रात्री भोजनको व्यवस्था गरेका रहेछन् । “अक्टोबर” समूहका संस्थापकहरु नै रहेछन् । चीनमा अक्टोबर महिनाको आफ्नै इतिहास र विशेषता छ । अक्टोबर दिवसमात्र होइन चीनको त्यो शरदमासको सुन्दरता पनि आफ्नै काव्यिक पक्ष छ । अत्यन्त सुन्दर प्याकिङमा गज्जबको क्यालिग्राफीमा संस्थाकै नाम मुद्रित दामी रक्सीको बोतलको उपहार पनि पायौँ ।
अब बाँकी रहेको अन्तिम दिनमा सरोजका पुराना सहपाठी प्रोफेसर लि हान–चोङका बुढाबुढी नै हामीलाई पैचिङ घुमाउन दिनभरि विदा लिएर होटेलमै आए । उनीहरू दिनभरी गफिए । दुवैजना पैचिङको प्रख्यात श्ये–ह (युनियन) अस्पतालमा काम गर्दा रहेछन् । उहिल्यै प्रोफेसर भइसकेका दुवैजना रिटायर हुन लागेका रहेछन् । चीनका उच्चस्तरका नेताहरूको निम्ति तोकिएको त्यो अस्पतालका ती वरिष्ठ चिकित्सक∕प्राध्यापक जोडी सरोजभन्दा अलिकति जेठा रहेछन् । अझैपनि उनीहरूले सरोजलाई सानो भाइलाई जस्तो माया गरेको देख्दा मलाई झनै रमाइलो लाग्यो ।
उनीहरू निकै सम्पन्न देखिन्थे । डा. ली एकचोटी नेपाल आएका थिए । त्यहाँ सरोजसँग अचानक भेट भएको थियो । हामी थैबमा बस्ने बेला उनी घरमै पनि आएका थिए । त्यो बेला हाम्रो सानो गाडी र सानै घर देख्दा उनले आफ्नो धारणा लुकाउन सकेनन्। “अझै गरीब नै रहेछौ“ भन्ने भाव दर्शाइहाले । हामी पैचिङ पुग्दा उनको भव्य गाडीमा बसेर पैचिङका सातै तहका चक्रपथमा परिक्रमा ग¥यौँ । आफ्नो जीवनको उतार चढावका बारे उनीहरूले पटक्कै कुरा नलुकाई कुरा गरे । हामीले पनि आफ्ना कथा सुनायौँ ।
हामी विद्यार्थीका रूपमा चीनमा बस्दा ठुला डाक्टर प्रोफेसरहरुको पनि प्राइभेट गाडी हुँदैनथ्यो । बसाई पनि साधारण नै हुन्थ्यो । धेरै डाक्टर साथीहरुको घरमा गएर मिष्ठान्न भोजन खाएका थियौं । त्यो बेला पनि चीनियाहरूले खुवाउने परिकारको त बयान गरेर साध्य नै छैन । तर हामी कहाँ दिउँसो पुगेका पुराना साथी व्यस्त भएकाले सँगै बसेर चिया मात्र खुवाउन सक्यौँ । रेष्टोराँ बुक गरेका थियौँ – खेर गयो ।
त्यसको केही वर्षपछि हो हामी पैचिङ पुगेको । त्यहाँ उनीहरूले असाध्यै गहिरो आत्मियता देखाए । बेलुका एउटा प्रख्यात रेष्टोराँमा लगेर खाना खुवाए । त्यो ठाउँमा जान लामैसमय अगाडिदेखि अग्रिम बुकिङ गर्नुपर्ने रहेछ । परिकार उस्तै भव्य थियो । म शाकाहारी भन्ने थाहा पाएर धेरै जसो परिकार शाकाहारी नै मगाए । रमाइलो गफ गर्दै, नयाँ,पुराना कुराहरु सम्झी त्यो बेलाका उत्पत्याङ्ग कुराहरु पनि सम्झेर दुबैजना एकले अर्कोलाई सुनाएर धेरै हाँसे । सुनेर म पनि हाँसेँ , जुन कुराहरु मेरा निम्ति नौलो थियो । साथीको उदारता खुल्लापनले मनलाई खुसी बनायो । चीनलाई बुझ्न धेरै मद्दत भयो ।
समय त परिवर्तनशील छ नै, विश्वमा केही देशहरु घुमेर हेर्ने मौका पनि पायौं । चीनको दोस्रो तेस्रो पटकको यात्रामा पाएको परिवर्तनको गति ज्यादै नै गतिशील लाग्यो । जीवनमा आधा दशकको समय भनेको पनि थोरै त होइन, मेरो युवा कालमा धेरै कुरा सिक्न पाएको देश हो चीन । सरोजको निम्ति त अझ १२ बर्ष भन्दा बढि बिताएको देश , डाक्टर भएर फर्केर देशको निम्ति पनि आफ्नै सपनामा देखेको नमूना स्वास्थ्य सेवा दिन सक्नुमा आफ्नो गुरुहरुप्रति ज्यादै कृतज्ञ पनि छौं हामी । बारम्बार जान नपाए पनि चीनमा बिताएका दिनहरुको सम्झनाले अनि त्यहाँबाट हेर्न पाएको संसारको अनुभव भिन्दै छ । यस पटकको छोटो समयको यात्राबाट हामीले भेटेका साहित्यकार र मित्रहरुबाट छोटो समयमा पनि धेरै कुरा बुझ्न पायौं…।


















