
काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले गगन थापाले कांग्रेस फुटाएको आरोप लगाएका छन् । इतर पक्षको इलाम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै कांग्रेसलाई विभाजनमा आफूहरूले नलगेको भन्दै गगन पक्षलाई आरोप लगाए ।
उनले भने, ‘अधिवेशन सार्नुस्। बीचमा राजनीतिक सहमति गरौँ नभए अदालतको निर्णय पर्खौँ भन्दा उहाँहरूले दुइटै कुरा नमानेर हतारहतारमा महाधिवेशन गर्नुभयो। त्यसकारण पार्टी फुटाएको हामीले होइन। पार्टी फुटाएको उहाँहरूले हो ।’
नियमित महाधिवेशन गरेको भए वैशाख जेठमै भइसक्ने उनको भनाइ छ । अहिले कांग्रेसको भूमिका कमजोर बनाएको आरोप लगाए । उनले थपे, ‘अहिले अचानक निर्वाचन आयोगले लगायत न्यायिक प्रक्रियामा समेत लेनदेनको कुरा आएको छ। त्यसपछि बल्ल उहाँहरू सरकारले नियोजित प्रचार गर्यो भन्दै हुनुहुन्छ ।’
सर्वोच्चबाट आफूहरूले नै न्याय पाउने जिकिर गर्दै उनले अर्को समूहमा लागेका नेता कार्यकर्ता पनि आफुहरुसँगै फर्किनेमा विश्वस्त रहेको बताए ।


















