Logo
Logo

सुनको मूल्य अहिलेसम्म ९४ हजारले घट्यो (भिडियोसहित) 


0
Shares

काठमाडौं । सुनलाई सधैँ ‘सेफ जोन’ मानिन्छ । सेयर बजार ओरालो लागोस्, घरजग्गाको कारोबार सुस्ताओस् वा अर्थतन्त्रमा संकट आओस्, सुनको चमक भने घट्दैन भन्ने आम बुझाइ छ । अझ मंसिर महिना लागेपछि सुनको माग बढ्ने र मूल्य पनि उकालो लाग्ने अपेक्षा गरिन्छ । विवाहको मौसम कारण मंसिरमा सुनको कारोबार बढ्ने गर्छ । 

तर, यसपालि बजारको पारा नै उल्टो देखिएको छ । मंसिर लागिसक्दा पनि सुनको भाउ उक्लिनुको साटो उल्टै दिनदिनै ओरालो झरिरहेको छ । हिजो–अस्तिसम्म तोलामै नयाँ–नयाँ रेकर्ड तोड्दा ‘अब त सुन छुनै नसकिने भो’ भनेर तर्सेका ग्राहक अहिले भाउ घट्दा पनि ढुक्कले किन्न सकिरहेका छैनन् । भाउ त घट्दै छ, तर ‘अझै झर्छ कि क्या हो रु’ भन्ने डरले धेरैलाई दोधारमा पारेको छ ।

आखिर सधैँ सुरक्षित लगानी मानिएको सुनमै किन गइरहेको छ पहिरो रु मंसिरमा मूल्य बढ्ने पुरानो प्रवृत्ति यसपटक किन उल्टियो रु अनि अहिले घटिरहेको सुनको मूल्य फेरि उकालो लाग्ला कि अझै ओरालो झर्ला रु यो बुझ्न नेपालको बजार मात्रै होइन, अन्तर्राष्ट्रिय अर्थतन्त्रको अवस्था पनि हेर्नुपर्ने हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेको छ । बुधबार मात्रै ६ हजार ३ सय रुपैयाँले घटेको सुन विहिवार ३ हजार ३ सय रुपैयाँले ओरालो लागेको थियोे । आज शुक्रबार पनि सुनको मूल्य १२ हजार २ सयले घटेको छ । पछिल्लो १० महिनामै सुन तोलामा ९३ हजार ९ सय रुपैयाँले सस्तिएको छ । माघ २०८२ मा तोलाकै ३ लाख ३९ हजार ३ सय रुपैयाँ तिर्न बाध्य भएका नेपालीका लागि यो सामान्य घटबढ होइन, बजारमा लागेको ठूलै पहिरो हो । तर, सुनमा यसरी पहिलो गएको पहिलो पटक भने होइन, यसअघि सन् २०११, २०१३ र २०१४ मा पनि सुनको भाउ यसैगरी नराम्रोसँग खस्किएको थियो । त्यसपछि त सुनले पछाडि फर्केर हेरेन, निरन्तर उकालो लागिरह्यो । 

अब मुख्य कुरा, सुनको भाउ यसरी किन झरिरहेको छ भन्ने हो । यसको मुख्य जरो अन्तर्राष्ट्रिय बजारमै छ । हाम्रो बजारमा बिहेबारीको माग जतिसुकै होस्, भाउ तय गर्ने जिम्मा स्थानीय माग र आपूर्तिले मात्र लिँदैन । विदेशी बजारमा सुनको भाउ कति चलिरहेछ, डलरको भाउ कस्तो छ र भन्सार कर कति लाग्छ रु यिनै कुराले यहाँको भाउ तोक्छ । त्यसैले बाहिर सुन सस्तिँदा त्यसको सीधा असर हाम्रो बजारमा पनि पर्छ ।

अर्को ठूलो कारण चाहिँ अमेरिकी डलरको बढ्दो रवाफ र ब्याजदर उकालो लाग्ने संकेत हो । सुनको भाउ र डलरको मूल्य सधैँ उल्टो हुन्छ, माग र पूर्तिको नियमजस्तै । डलर बलियो हुँदा अन्य देशका लगानीकर्ताका लागि डलरमा कारोबार हुने सुन महँगो पर्छ । त्यसले सुनको माग घटाउन सक्छ । अहिले अमेरिकी डलर बलियो बन्दै गएको छ । अर्कोतर्फ अमेरिकी सरकारी ऋणपत्रबाट प्राप्त हुने प्रतिफल अर्थात् ट्रेजरी यिल्ड पनि बढिरहेको छ ।

यसले लगानीकर्तालाई सुनभन्दा राम्रा विकल्पतिर आँखा लगाउने मौका दिएको छ । सुनले बैंकको मुद्दती खाता वा सरकारी बन्डले जस्तो ब्याज त दिँदैन । यसमा त भाउ बढे मात्र कमाइ हुन्छ । तर ब्याजदर बढ्ने छनक मिल्नासाथ पक्का प्रतिफलको लोभमा लगानीकर्ताले सुनको पैसा झिकेर अन्तै खन्याउन थाल्छन् । त्यसैले अहिले सुन थन्क्याउनेभन्दा बेच्नेको संख्या बढ्दो छ । 

अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ले ब्याजदर अझै उकास्न सक्ने संकेत दिएपछि त सुनको चमक झनै फिका परेको छ । नोभेम्बर १८ मा बाहिरिएको फेडको बैठकको विवरणले महँगी थाम्न अझै कडाइ गर्नुपर्ने जोखिम देखाएको छ । बजारले त डिसेम्बरमै अमेरिकी ब्याजदर कम्तीमा ०।२५ प्रतिशत बिन्दुले बढ्न सक्ने हिसाब निकाल्न थालेको छ । ब्याजदर बढ्ने यही अपेक्षाले डलर र सरकारी ऋणपत्रलाई बलियो बनाउँदा सुन भने नराम्रोसँग चेपुवामा परेको छ ।

सामान्यतया विश्वमा युद्ध चर्कियो, राजनीतिक तनाव बढ्यो या आर्थिक संकट आयो भने लगानीकर्ताको पहिलो रोजाइ सुन नै हुन्छ । किनकि त्यस्तो बेला सुनलाई सबैभन्दा भरपर्दो ‘सेफ हेभन’ मानिन्छ । अहिले मध्यपूर्वमा तनाव चुलिएको छ । अमेरिका र इजरायलको इरानसँगको युद्धले विश्व बजारमै त्रास र अनिश्चितता फैलाएको छ । यस्तो बेला त सुनको भाउ उकालो लाग्नुपर्ने हो । तर, यसपालि हिसाबकिताब नै उल्टो भइदियो ।

यसको पछाडि युद्धले निम्त्याएको अर्को कडा आर्थिक दबाब छ । मध्यपूर्वको तनावले विश्व बजारमा कच्चा तेलको भाउ तताएको छ । तेल महँगिएपछि सामान उत्पादन गर्न र ओसारपसार गर्नै महँगो पर्छ, जसले मुद्रास्फीति झन् बढाउँछ । महँगी नियन्त्रणबाहिर जान थालेपछि अमेरिकी केन्द्रीय बैङ्क ब्याजदर घटाउने होइन, उल्टै बढाउनुपर्ने बाध्यतामा पुग्छ । यसरी युद्धले एकातिर सुनतिर तान्ने बहाना त बनायो, तर अर्कातिर ब्याजदर बढ्ने खतरा पनि सँगै ल्याइदियो । अहिले भने यही ब्याजदरको डर सुनको भाउमाथि हाबी भएको छ ।

यति मात्र होइन, भाउ निकै माथि पुगेपछि लगानीकर्ताले नाफा हात पार्न सुन धमाधम बेच्न थालेका छन् । बजारमा यसलाई ‘प्रफिट बुकिङ’ भनिन्छ । जनवरीमा सुनले ऐतिहासिक उचाइ छुँदा धेरैले मज्जाले नाफा कमाए । तर भाउ चुलीमा पुगेपछि नाफा जोगाउन बेच्ने होड चल्यो । त्यसपछि भाउ झर्न थाल्नासाथ “खत्तमै हुने भो, घाटा खानुअघि नै बेचौँ’’ भन्दै अरू लगानीकर्ता पनि हतारिए । यसले त सुन बेच्ने दबाब झन् चर्कियो ।

उता पछिल्लो समय ठूला टेक कम्पनीको सेयर बजारमा पनि ठूलै पहिरो गएको छ । खासगरी एनभिडियाको सेयर भाउ नराम्ररी खस्किएपछि हातमा नगद टिकाउन लगानीकर्ताले सुनजस्तो सम्पत्तिसमेत बेच्न थालेको बताइन्छ । सोझो अर्थमा, सुन जतिसुकै सुरक्षित मानिए पनि खल्तीमा नगदको खाँचो पर्दा मान्छेले सुनै बेचेर पैसा निकाल्छन् । त्यसैले ‘सुरक्षित सम्पत्ति हो, यसको भाउ त कहिल्यै झर्दैन’ भन्ने सोचाइ सधैँ सही हुँदैन ।

तर, भाउ घट्दैमा विश्व बजारमा सुनको माग नै सकियो भन्ने चाहिँ होइन । विश्वका केन्द्रीय बैंकहरूले अझै पनि सुन थुपार्ने क्रम जारी राखेका छन् । ‘वल्र्ड गोल्ड काउन्सिल’का अनुसार सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्मै केन्द्रीय बैंकहरूले झन्डै ६ सय ७५ टन सुन किनिसकेका छन् । अमेरिकी डलरको भर कम गर्न र विदेशी मुद्रा सञ्चितिमा विविधता ल्याउन ठूला अर्थतन्त्रहरूले सुन जम्मा गरिरहेका छन् । चीनजस्ता देशले पनि सुन सोहोर्ने काम रोकेका छैनन् ।

तर, पहिलेको तुलनामा केन्द्रीय बैंकहरूको खरिद रफ्तार र लगानीकर्ताको पारामा भने केही फेरबदल देखिएको छ । सुन निकै महँगिएपछि गरगहना र सिक्का किन्ने सर्वसाधारणको माग सुस्ताएको छ । उता ब्याजदर र डलरको कसाइले नयाँ लगानीकर्तालाई पनि ‘के हुन्छ, हेरौँ न’ भन्ने अवस्थामा पु¥याइदिएको छ । सोझै भन्दा, सुनको लामो दौडको महत्त्व त हराएको छैन, तर अहिलेलाई भाउलाई उचाल्ने तागत भने फितलो परेको छ ।

अब सबैभन्दा चासोको विषय, सुनको मूल्य अझै कति घट्ला रु अनि फेरि कहिलेदेखि बढ्न थाल्ला रु यसको ठ्याक्कै जवाफ दिन सक्ने अवस्था छैन । किनभने सुनको मूल्य आगामी दिनमा अमेरिकी ब्याजदर, डलरको अवस्था, मध्यपूर्वको तनाव र विश्व अर्थतन्त्रको दिशाले निर्धारण गर्नेछ । यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणले केही सम्भावित संकेत भने दिएका छन् ।

यसको अर्थ सुनको भाउ अहिल्यै उचालिहाल्छ भन्ने पनि छैन र सधैँ यसरी नै झरिरहन्छ भन्ने पनि होइन । तर अमेरिकी केन्द्रीय बैंकले ब्याजदर झन् बढायो, डलरको मूल्य बढ्यो र बेच्नेको लर्को रोकिएन भने भाउमा थप दबाब पर्न सक्छ । यसको उल्टो, ब्याजदर घट्ने छनक देखियो, डलर कमजोर बन्यो या विश्वमा नयाँ आर्थिक राजनीतिक संकट झन् चर्कियो भने सुनले फेरि उकालो बाटो समात्न सक्छ ।

त्यसैले अहिले सुन किन्ने कि नकिन्ने भन्ने दोधारमा सर्वसाधारण र लगानीकर्ता दुवै चनाखो हुनुपर्छ । बिहे–बटुलो वा गरगहनाकै खाँचो परेकालाई त भाउ घट्नुले केही राहत र सास फेर्ने मौका दिएको छ । तर सबै पैसा एकैपटक सुनमा खन्याउनु जोखिमपूर्ण हुन सक्छ । उता महँगोमा सुन किनिसकेकाहरूले पनि आत्तिएर सस्तोमै बेच्ने कि केही समय धैर्य गर्ने भन्नेबारे आफ्नो अवस्था हेरेरै निर्णय लिनु उपयुक्त हुन्छ ।

किनकि सुन त सधैँ चम्किन्छ, तर यसको भाउ सधैँ उकालो लाग्दैन । कुनै बेला सुनले लगानीकर्तालाई मालामाल बनाउँछ, कुनै बेला त्यही सुनले ठूलै घाटा पु¥याउँछ । हिजो भाउ बढ्छ भनेर हौसिँदै पैसा खन्याउनेहरू आज घट्दा झस्किएका छन् । विगतमा पनि यस्तै पहिरोले धेरैलाई तर्साएको थियो । त्यसैले सुनको चमक देखेर मात्रै आँखा चिम्लिने कि बजारको चाला बुझेर कदम चाल्ने रु आखिर ‘सुरक्षित लगानी’ भनिने सुनमा पनि जोखिम लुकेको हुन्छ भन्ने कुरा अहिलेको बजारले फेरि एकपटक झस्काइदिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000