
महान् प्रतिभा लक्ष्मीप्रसाद देवकोटालाई मनोचिकित्सक डा. ओवेन बर्कले–हिलले नेपालमा जन्मनु भौगोलिक गल्ती (जियोग्राफिकल मिस्टेक) भनेका थिए अरे ! उनै महाकविको प्रतिभा र मनोदशा चिन्न नसकेर ‘पागल’ भन्दै राँची पुर्याइएको थियो । सन्दर्भवश महावीर पुनको जन्म पनि त्यस्तै मिस्टेक हो कि भनी मैले साथीसँग एक दिन गफ गर्दा यो लहरमा सम्झिन पुगेँ- कवि/कलाकार जीवित खड्का मगरलाई समेत ।
महावीर पश्चिमी गोलाद्र्धमै हुन्थे भने वैज्ञानिकको रुपमा सम्मानित हुन्थे होला, नेपालमा खिल्लीको पात्र बनिरहेछन् । देशले चिन्न नसक्नु असाधारण प्रतिभाहरूका लागि ‘जियोग्राफिकल मिस्टेक’ नै त हो । जीवितलाई पनि देशले चिनेको भए अरबको तातोमा कुची खियाएर परिवार पाल्न विवश हुन्थेनन् । बरू कुनै ऐतिहासिक सिर्जनाकर्ममा तल्लीन हुन्थे होलान्, आफ्नै देशमा ।
यसै सन्दर्भमा प्रसिद्ध नियात्राकार प्रतीक ढकालले आफ्नो एउटा अन्तर्वार्तामा भनेका छन्- ‘जसरी देवकोटाका कवितामा किट्स र शेली भेटिन्छन्, जसरी कोइरालामा आन्तोन चेखभ भेटिन्छन्, त्यसरी नै जीवित खड्का मगरभित्र पनि पिकासो र भ्यानगग भेटिहाल्छन् नि ! हामी कमजोर भएर होइन, पहुँच नभएर त्यहाँ नपुगेका हौँ… ।’ यहाँ मेरो आशय पनि ठ्याक्कै प्रतीक ढकालसँग मिल्यो । यिनै प्रतिभा जीवितको तेस्रो कवितासङ्ग्रह ‘धागो’ यतिखेर मेरो हातमा छ ।
‘धागो’भित्र चालीस थान कविता छन् । ती सबै एकसेएक सुन्दर लाग्छन्, कवितामय चित्र र चित्रमय कविताजस्ता । जहाँ अधिकांश कविता छोटा भईकन पनि चोटिला छन् । विम्बको सघनता र भावको अमूर्तता तिनमा खाँदिएको छ । आधुनिक व्यस्त समयमा पाठकले रुचाउने यस्तै कविता त हो । एउटा छोटो सिङ्गो कविता हेरौँ-
बारुद बनाएर हामीलाई
भरुवा बन्दुकमा नखाँद्नू
तिमी जति खाँद्दै जान्छौ
हामी उति जोडले पड्किन्छौँ । (बारुद, पृ. ८६)
केही कविता लामा छन् । सरल र वर्णनात्मक भए पनि तिनमा विम्बको प्रचुरता कायमै देखिन्छ । स्मृति विम्ब, शब्द विम्ब, सन्दर्भ विम्ब, प्रतीक र मिथकले कविता ओजपूर्ण बनेका छन् । कविको रचना-सन्दर्भ जेसुकै होस्, पाठकले आफ्नो अनुकूलतामा बुझ्छ । कविको उद्देश्य पाठकले पहिल्याउन सकोस्/नसकोस्, उसले आफ्नै स्तरमा ग्रहण गरेर काव्य-सौन्दर्यको मज्जा लिन सक्यो भने त्यसैमा कविको सफलता निहीत हुन्छ । अमूर्त चित्रकार भन्छन्- चित्रमा अर्थ खोज्ने हैन, मस्तिष्कले सौन्दर्यपान गर्ने र आँखालाई आनन्द दिने हो । जीवितका कविता यस्तै एउटा-एउटा क्यानभास हुन्, जहाँ पाठकले आफ्नै स्तरको सौन्दर्यपान गर्छन् ।
सङ्ग्रहको पहिलो कविता ‘एउटा घर’ पूरै विम्बमा बोल्छ । पाठकले अनेक अर्थ लगाउँछन् । अमूर्त चित्रझैँ, छोटो तर गहन भावको कविता । कुन मनोदशामा लेखे कविले ? कतै प्रेमिल मनोदशा वा सामाजिक सम्बन्धको उतारचढावमा ? नदी र झरनाको बीचमा उठिरहेछ पहाड, आगो र पानीको बीचमा सुतिरहेछ दह । दुई आत्मीय जन वा प्रेमीहरूको बीचमा सामाजिक/भौगोलिक/मानसिक पर्खाल (अवरोध) खडा छ ।
सम्बन्धहरूको असमझदारीले घर जलिरहेछ । सम्बन्धहरूमा आउने उतारचढाव, आन्तरिक जलन र द्वन्द्व यस कवितामा छ । अर्को कविता ‘घर र स-साना ढुङ्गा’मा पनि यही असमझदारीको भयङ्कर परिणाम दर्शाइएको छ । कैयौँ भुइँचालोले समेत ढाल्न नसकेको घर लडाउन ससाना ढुङ्गारुपी निहुँ नै काफी हुन्छन् । कवि भन्छन्-
हान्यौ बारम्बार
ढुङ्गा हान्यौ तिमीले
र, मैले पनि स-साना ढुङ्गा
के हानिदिएँ
गल्र्याम्मै ढल्यो घर । (पृ. ४४)
दुई शब्दमा सोझै भन्दा बुझिने कुरा कविले शिल्पको जाँतो घुमाई भनेका छन् । यसलाई म काव्यिक सौन्दर्य मान्छु । हेरौँ-
सबेरै हल्ला गर्दै ढिकी-जाँतोहरू
मस्त निदाइरहेको घामलाई उठाइरहन्थे
र, घाम क्षितिज-आमाको काखबाट
उठेर आइनपुग्दै आँगनमा
आइसक्थ्यो हिँडेर उकालैउकालो
पँधेरी खोलाको पानी
आइसक्थे आफ्नै हाँगाको पात बजाउँदै
वनका बुटाहरू । (गाउँमा हराएको गाउँ, पृ.१३)
पहाडको भिरालो वा उकालो कठिनाइ पनि आफैमा सौन्दर्य हो । कैयौँ जीवन यसरी पहाड उक्लिँदैमा, ओर्लिंदैमा गुज्रिएका छन् (पहाडको बाटो) । ‘एउटा पत्थरको पहाड’ विसङ्गतिबोध, अस्तित्ववादी चेत र अमूर्त विम्बहरूको संयोजन हो । पत्थरको पहाड- संवेदनहीनता र जडताको प्रतीक । बाह्य संसारमा घाम, जून, तारा, नदी, झरना र हावा सबै गतिशील÷जीवन्त छन् । तर ती सबै तत्व मानिसको आन्तरिक संसार वा आधुनिक समाजमा आएर आफ्नो मौलिकता गुमाउँदै अर्थहीन बनिरहेछन् ।
‘जेलबाहिरको जेल’ प्रवासी जीवनको काव्यचित्र हो । परदेश आफैँमा कैदखानाजस्तो छ, त्यहाँको जीवन रोबोटजस्तो । मृत्युदण्डको कठोर कानुन, जहाँ मानवता संवेदनाशून्य छ । यस्तो परिवेशबाट संवेदनशील कविहृदयले नेपाल सरकारलाई प्रश्न गर्नु स्वाभाविक हो । प्रस्तुत कवितामा अरबभूमिमा कैदीसरह जीवन बिताउनुको निस्सारता तथा अस्तित्वबोधी चेतना छ । ‘नदी र बूढा रुखहरू’ पुरानो जर्जर सत्ता÷व्यवस्था, बूढा नेताहरूविरुद्ध शालीन विद्रोह हो । ‘घोडा र घोडाहरू’ शासक र शासितको सम्बन्ध देखाउने कविता हो । केवल राज्यसत्ता मात्र हैन, जातिजाति, धर्म–सम्प्रदाय, मन्दिर–चर्च सबैतिर घोडा चढ्ने मालिक छन् र तिनले अघोषित दास बनाइरहेछन्- निमुखा वर्गलाई ।
‘उड्ने मान्छे’ जति छोटो छ, त्यति नै शक्तिशाली व्यङ्ग्य छ । उड्ने मान्छे ती उच्च ओहोदामा पुगेका शक्तिशाली वा महत्वाकांक्षी मानिसहरूको प्रतीक हो, जो सर्वसाधारणभन्दा माथि हुन्छन् । तर तिनको नियत गिद्धको झैँ हुन्छ, समाजका लागि खतरनाक । सङ्ग्रहको अन्तिम एवं शीर्ष कविता ‘धागो’ मानवीय सम्बन्धको गहिरो मनोविज्ञानलाई छाम्न सफल रचना हो । धागो– जीवन, सम्बन्ध र मानिसका भावनाको प्रतीक । सम्बन्धमा÷जीवनमा असमझदारी वा समस्या बल्झिन्छन् । तर जबरजस्ती हतारमा सुल्झाउन खोज्दा झनै गाँठो पर्ने वा चुँडिने सम्भावना रहन्छ । कविले धैर्यपूर्वक सम्बन्धलाई नचुँडाई, थप गाँठो पर्न नदिई आदिम न्यानोपन जोगाइराख्ने शाश्वत मानवीय चाहनालाई दार्शनिक वाणी दिएका छन् ।
जीवितका कवितामा प्रेम÷प्रणय भाव र यौनविम्ब पनि पाइन्छन् । ‘बाँझो खेत’ यस्तै शक्तिशाली कविता हो । जो ‘न्यूड पेन्टिङ’ जस्तो छ । यो कवितामा बिपी कोइरालाको ‘कर्नेलको घोडा’ कथा र फ्रायडीय यौनमनोविज्ञानको झलक पाइन्छ । यस कविताको मूल भाव शून्यताबाट सिर्जनाको यात्रा, प्रेम र यौनको प्राकृतिक मनोविज्ञान एवं सामूहिक श्रमबाट प्राप्त हुने पुनर्जागरण हो । ‘बाँझो खेत’ यहाँ दुईवटा अर्थमा उभिएको छ । शारीरिक/मानसिक रूपमा- तिर्खाएकी र एक्लोपनले ‘झोक्राएर बसेकी’ एउटा स्त्रीको उदास यौवन वा जीवनको विम्ब हो । भौतिक रूपमा- यो अनुत्पादक बनेको जमिन (वा देश) हो, जसलाई उर्बर बनाउन श्रम र पानी (ऊर्जा) को आवश्यकता छ । फलेको अमिलो, बाँझो खेत र घोडा आफैँमा यौनिक विम्ब पनि हुन् ।
हेरौँ कवितांश-
जहाँ भोकाएको घोडा अघाउन्जेल चर्नेछ
हामी पनि फलेका अमिलोहरू खाऔँ
नून–खुर्सानीमा साँधेर
उखेलौँ उम्रेका यी दुबो र झारहरू
आगोमा डढाइदिऊँ तीखा यी उम्रेका काँडाहरू
र, बनाऔँ नयाँ कुलो
त्यो पारि झरनाबाट झरेको पानीलाई,
र, जोतौँ बेस्मारी यो बाँझो खेतलाई । (पृ. ७८)
शिल्पगत हिसाबले निकै परिपक्व कविता ‘बाँझो खेत’ले रोमान्टिक चेत र प्रगतिवादी (श्रम र सिर्जनाको) चेतलाई एकै ठाउँमा मिसाएको छ । ‘छायाँ भएर नआऊ’ र ‘अन्तिम विद्रोह’ जस्ता कवितामा पनि प्रणय भाव छचल्किएको छ । कविले लुकी लुकी प्रेम गर्न नचाहेको बरु चोकको सालिकझैँ खुल्लारुपमा प्रेम गर्न चाहेको भाव व्यक्त गरेका छन् ।
तिमी भन्छ्यौ-
मन–मन्दिरमा
हर दिन पूजा गरेकी छु देउता बनाएर तिमीलाई
भयो, कसैले नदेख्ने देउतालाई पूजा नगर्नू !
बरु मलाई भेट्न
सालिकझैँ कुनै चोकमा
सबैका सामु देखी देखी आऊ
सङ्गी-साथीहरू भेटी भेटी आऊ । (छायाँ भएर नआऊ, पृ.४७)
ईश्वर÷धर्म÷पाखण्डप्रति व्यङ्ग्य एवं असहमति जीवितको अर्को विशेषता देखिन्छ । उनी ईश्वरको नाउँमा हुने छलकपट, ढोङ र मिथ्या सपनाको खेतीविरुद्ध छन् । कसैलाई देउता बनाउनेभन्दा पनि वास्तविक मानवताको धरातलमा बाँच्नुपर्ने उनको अभिमत छ । रामलाई भगवान् र रावणलाई अत्याचारी मान्ने रामायण कथाप्रति कविको घोर अविश्वास देखिन्छ (बा, यो रामायण कथा साँचो हो ?) ।
सीताको सतित्वमाथि शङ्का गरी अग्निपरीक्षा लिने रामलाई आडम्बरी र रावणलाई खास आदर्श राजा मान्नुपर्ने उनको तर्क छ (अग्निपरीक्षाअघि सीताको प्रतिवाद) । कविको विचारमा देउताहरूको काम मानिस-मानिसबीचको सग्लो प्रेम, सद्भाव र एकता बिगार्नु हो । अनेक धर्म-सम्प्रदायका कारण विभाजित मानवताप्रति तीखो व्यङ्ग्य पाइन्छ- ‘देउताहरूको सत्ता’मा । धर्मग्रन्थहरू मान्छेको स्वतन्त्रता बन्धक बनाउने जञ्जिर हुन् । धर्मकै नाउँमा विश्वमा युद्ध व्याप्त छ । इतिहासदेखि नै लाखौं मानिस मारिँदै आए, धार्मिक द्वन्द्वले (ईश्वरहरूको विरुद्धमा) । कवि प्रश्न गर्छन्- अल्लाह/ईश्वरहरू किन मारिएनन् ? त्यहाँ मानिसकै बलि किन चढ्छ ?
राजनीतिक बेथिति र जनजीवनका समस्यालाई पनि जीवितले काव्यिक रुप दिएका छन् । लोकतन्त्रका नाममा मनोमानी तन्त्र, दण्डहीनता र शक्तिको खेल देखेर कवि आक्रोशित छन् । देशलाई धमिराको गोला बनाइरहेको कथित लोकतन्त्रलाई कवि पान खाएर पिच्च थुक्न मन लागेको बताउँछन् (फोहोरको टोकरीमा लोकतन्त्र) । देशमा व्याप्त बेरोजगारी, विमानस्थलको भीड र परदेशिनुको लाचारी देखेर आम नेपालीझैँ कविको मन पनि व्यथित छ । उनी खडेरीमै आँसुको झरीमा रुझ्नेगरी परदेश नआनू भन्छन्-
जहाँ सधैँ खडेरी हुन्छ
खडेरीमै असार–साउनको झरी हुन्छ
झरीमा रुझ्न आइरहेछौ तिमीहरू ?
तर, आउनुअघि हवाइजहाजको भ¥याङ उक्लिँदै गर्दा
अन्तिमपटक सिंहदरबारतिर फर्केुर प्रश्न सोध्नु-
ओ, शासकहरू
दिनहुँ यो बेरोजगारको ताँती
भोको कमिलाझैँ कहिलेसम्म ?
(परदेश आउनेहरूलाई, पृ. ७५)
कुनै अध्ययन/अनुसन्धान गर्नुप¥यो भने निश्चित नमूना लिएर गुणदोषको विश्लेषणमार्फत निष्कर्ष निकालिन्छ । रंगकवि जीवितको ‘धागो’ सङ्ग्रहबाट माथि चर्चा गरिएका निश्चित नमूना–कवितामार्फत उनको समग्र काव्यिक क्षमताको उजागर हुन्छ । जीवित आफैं सिद्धहस्त चित्रकार भएकाले उनका शब्दमा पनि रङ र रेखाको चेत प्रस्ट देखिन्छ । उनका विम्बहरू परम्परागत नभएर उत्तरआधुनिक र अमूर्त छन्, जसलाई बुझ्न पाठकले अलि गहिरो बौद्धिक कसरत गर्नुपर्छ ।
यद्यपि एक सबल कृतिका लागि विम्ब र भावको पुनरावृत्ति दोषयुक्त मानिन्छ । जीवितका कवितामा पहाड, नदी, झरना, तारा, हिमाल, फूल आदिजस्ता विम्बहरू बारम्बार दोहोरिएर आएका छन् । तर तिनले दिने सान्दर्भिक अर्थ भने भिन्नाभिन्नै छ । विशेषण थोपर्ने समस्या पनि यदाकदा देखिन्छ । हरिया गीत, हरिया पहाड, हरिया झरना, हरिया खेत, हरिया सपना… आदि । कविले कतै ‘मरेको सिनो’ लेखेका छन् । सिनो भनेको मरेकै हुनाले ‘मरेको’ विशेषण जोड्न आवश्यक छैन । भावप्रबल कविका यस्ता भाषिक कमजोरी आगामी दिनमा थप परिस्कृत हुने विश्वास गर्न सकिन्छ ।
समग्रमा जीवितका कविताहरूको मूल सार मानव अस्तित्वको खोजी, सम्बन्धको जटिलता र आधुनिक समाजको विसङ्ग्रतिबीच आशा र सिर्जनाको खोजी हो । उनका कविता बाहिरी संसार र मानिसको भित्री संसारलाई जोड्ने बलियो धागो हुन् । जीवित सस्तो र सतही भावना बगाउने कवि होइनन्, बरु पाठकलाई गम्भीर बौद्धिक छटपटी दिने कवि हुन् । उनी शब्दका मात्र होइन, भावना र रङका पनि सशक्त शिल्पी हुन्, जसका कविताले आधुनिक मानव जीवनको ऐना देखाउँछन् ।
०००


















