काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत यस्तो प्रयास भइरहेको उनको भनाइ रहेको छ ।

शनिवार भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय तहको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही समयसीमाअनुसार छुट्टाछुट्टै निर्वाचन गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनको नाममा संविधान र कानुन मिच्ने प्रयासले देशमा थप राजनीतिक संकट निम्त्याउन सक्छ । सबै दल जिम्मेवार र सचेत हुनुपर्छ ।’
निर्वाचन आयोगमा दलका नेताहरूसँग भएको छलफलमा केही पक्षबाट एकैपटक वा प्रदेशसभा पहिले गर्ने विषय उठे पनि संविधान र कानुनअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे । आयोगले पनि दुईपटक निर्वाचन संविधानसम्मत हुने धारणा राखेको उनको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारलाई पाँचवर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने उनको भनाइ रहेको छ । कानुन मिच्दा राजनीतिक अस्थिरता र प्रतिगामी शक्तिलाई अवसर मिल्ने चेतावनी उनले दिए । यसैगरी, प्रचण्डले आगामी राजनीतिक प्रतिस्पर्धा भाषणमा मात्र सीमित नरहने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताए ।


















