Logo
Logo

एनपीएलको तेस्रो संस्करणमा कसले कुन पुरस्कार पाए ?


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । शनिवार सम्पन्न प्रतियोगिताको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जितेको थियो ।

The current image has no alternative text. The file name is: rijan-1.jpg

उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

व्यक्तिगत विधातर्फ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै विद्युतीय गाडी पुरस्कार पाउन सफल भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका ढकालले गोल्डेन क्यापसँगै दुई लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । उनी उत्कृष्ट बलरसमेत घोषित भएका छन् । उत्कृष्ट बलर बनेबापत उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

यसैगरी, विराटनगर किङ्सका लोकेश बम नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा २४२ रन बनाएका थिए । यस उपलब्धिका लागि उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका छन् । उनले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । चितवन राइनोजका कमिल मिसार प्रतियोगिताको उत्कृष्ट ऊर्जाशील खेलाडी घोषित भएका छन् । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

पोखरा एभेन्जर्सका युवराज साम्राले प्रतियोगितामा सर्वाधिक २९४ रन बनाउँदै प्लेटिनम क्याप जितेका छन् । उनले यस विधामा दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्सले यस सिजनको एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेको छ ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एनपीएलसँग सहकार्य गर्दै प्रतियोगितामा उत्कृष्ट खेलभावना, निष्पक्ष खेल प्रदर्शन तथा विपक्षी टोली, खेल पदाधिकारी र दर्शकप्रति सम्मान देखाउने टिमलाई गत सिजनदेखि यो अवार्ड दिन शुरु गरिएको हो । गत सिजनमा यो अवार्ड काठमाडौँ गोर्खाजले पाएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000