काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३मा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए ।उनले सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । यस पटक चितवन तेस्रो भयो ।

रिजनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एण्ड जाएको कार पुरस्कार पाए । यस्तै रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल समेत पनि जिते ।
यस्तै प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित भए । उनले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए । उनले ५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित भए । उनले नगद २ लाख हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटगर किंग्सका लोकेश बम घोषित भए । उनले २४२ रन बनाए । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्।
यसैगरी जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जिते । उनले पनि पल्सर मोटरबाइक अवार्ड जिते ।सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गरेका सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् । उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गर्यो ।


















