काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको बबरमहलमा १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थामा हाल १ हजार ९ सय ७५ सेयर सदस्य आबद्ध छन् । कुल सेयर पुँजी करिब ८ करोड, निक्षेप संकलन ७५ करोडभन्दा बढी र कर्जा लगानी करिब ३९ करोड पुगेको छ । संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनसिआए) अनुसारको लेखा प्रणाली पूर्ण कार्यान्वयन गरेको छ भने प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशनको पालना गर्दै सुशासनलाई सुदृढ बनाएको जनाइएको छ ।
२९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्थाले अहिले खिचापोखरीस्थित आफ्नै आधुनिक भवनबाट प्रविधिमैत्री सेवा दिइरहेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, पदयात्रा, वार्षिक मनोरञ्जन कार्यक्रम, मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम तथा साना तथा मझौला व्यवसायी सदस्यका लागि ‘चितकोल डिजिटल क्याटालिस्ट’ डिजिटल मार्केटिङ तालिमजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षको नीति–बजेट तथा लेखापरीक्षक नियुक्तिसहित विशेष प्रस्तावहरू पारित गरेको छ । ती प्रस्तावमा संस्थाको सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारीसँग एकीकरण तथा बहुउद्देश्यीय व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनजस्ता विषय समेटिएका छन् ।
प्रमुख अतिथि उप्रेतीले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि संस्थाले सदस्य सङ्ख्या, सेयर र बचतमा उल्लेखनीय वृद्धि गर्दै सामाजिक उत्तरदायित्व पूरा गरेको र नियामक अनुशासन कायम राखेको उल्लेख गर्दै यसलाई अन्य सहकारीका लागि अनुकरणीय बताए । काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले संस्थालाई न्यूरोड क्षेत्रको स्थानीय विकास साझेदार र उद्यमशीलता प्रवर्द्धकका रूपमा चित्रण गरे । सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले सफल सहकारीका लागि सदस्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले सदस्य, नियामक निकाय, सञ्चालक समिति र व्यवस्थापन समूहप्रति आभार व्यक्त गर्दै आगामी दिनमा डिजिटल सेवा र सदस्यकेन्द्रित कार्यक्रममार्फत ‘सदस्य समर्पित अग्रणी सहकारी’ बन्ने तथा आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्य समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाए ।


















