
रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा थपिएसँगै गोसाइँकुण्ड धार्मिक यात्रासँगै नियमित पदयात्राको गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्व तथा मेलाका अवसरमा मात्रै यात्रुको चहलपहल हुने गरेको थियो। अहिले भने वर्षभरि पर्यटक पुग्न थालेका स्थानीय व्यवसायी बताउँछन्।
काठमाडौँबाट सवारीसाधनमा रसुवाको सदरमुकाम धुन्चेसम्म पुग्न सकिने भएकाले त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गसमेत छन्।
पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताइन्। पहिले विशेष मेलापर्वमा मात्रै पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उनको भनाइ छ।
धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन्। केही दिन पर्यटकको संख्या अझ बढी हुने गरेको छ। गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पु¥याउँदा पर्यटक आगमन केही समय प्रभावित भए पनि अहिले जनजीवन र पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उनले बताए।
मिनी गोसाइँकुण्डमा होटल व्यवसाय गर्दै आएकी सीता देवकोटाले पनि बाढीका कारण केही समय व्यवसाय प्रभावित भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन सामान्य बन्दै गएको बताइन्। उनका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।
धार्मिक आस्था र पौराणिक विश्वास
गोसाइँकुण्ड धार्मिक आस्थाका कारण पनि प्रसिद्ध छ। संसारभरका देवीदेवता गोसाइँकुण्डमा बास बस्ने भएकाले त्यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने धार्मिक मान्यता रहेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउँछन्।
पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिएका थिए। त्यसपछि उनी त्यही कुण्डमा शयन गरेको विश्वास गरिन्छ। त्रिशूलबाट निस्किएको जलले गोसाइँकुण्ड बनेको र भगवान् शिव आजसम्म कुण्डमा शयन गरिरहेको धार्मिक विश्वास छ।
कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने र घरमा सुखशान्ति मिल्ने विश्वासका साथ श्रद्धालु नीलाद्री पर्वत पुगेर शिवको पूजाआराधना गर्ने तथा वरदान माग्ने परम्परा रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए।
अमरसिंह थापासँग जोडिएको ऐतिहासिक महत्त्व
गोसाइँकुण्डको धार्मिक महत्त्वसँगै ऐतिहासिक पक्ष पनि जोडिएको छ। नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताए।
उनका अनुसार थापाले कुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताएका थिए। प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन्। धार्मिक आस्था राख्ने यात्रुहरू यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा मागेर वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने प्रचलन छ। यात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने परम्परासमेत कायम छ।
उच्च हिमाली पदयात्रामा स्वास्थ्य सतर्कता
गोसाइँकुण्ड जुनसुकै मौसममा पदयात्रा गर्न सकिने गन्तव्य बने पनि उच्च हिमाली क्षेत्र भएकाले यात्रामा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने हुन्छ। लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम रहन्छ।
स्थानीयवासीले यात्राका क्रममा पर्याप्त पानी तथा ग्लुकोज पिउन, चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि बोक्न र अदुवा, लसुन तथा कागतीजस्ता घरेलु उपाय अपनाउन सुझाव दिने गरेका छन्।
धार्मिक आस्था, ऐतिहासिक महत्त्व, हिमाली भूगोल र प्राकृतिक सौन्दर्य एकै ठाउँमा समेटिएको गोसाइँकुण्ड पछिल्लो समय वर्षभरि पदयात्रा तथा भ्रमण गर्न सकिने गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सडक तथा पदमार्गको पहुँच र पर्यटन पूर्वाधार विस्तारले यस क्षेत्रको पर्यटन व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।


















