काठमाडौं । नेपालको पत्रकारिताको इतिहासमा छुट्टै पहिचान बनाएको ऐतिहासिक साप्ताहिक पत्रिका ‘दृष्टि साप्ताहिक’ आफ्नो स्थापनाको ४४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना भएको ४३ वर्ष पूरा गरी ४४औँ वर्षमा प्रवेश गरेको अवसरमा दृष्टिले मंगलबार वार्षिकोत्सव मनाएको छ ।

विसं २०३९ मा स्थापना भएको दृष्टि साप्ताहिकले चार दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको छ । स्थापनाकालदेखि नै राजनीतिक, सामाजिक र आर्थिक विषयमा स्पष्ट दृष्टिकोणसहित समाचार, विचार र विश्लेषण प्रस्तुत गर्दै आएको पत्रिकाले आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ ।
दृष्टिको यात्रा सहज परिस्थितिबाट सुरु भएको थिएन । पञ्चायती व्यवस्थाको निरंकुश राजनीतिक वातावरण, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र प्रेस स्वतन्त्रताका अनेक चुनौतीबीच पत्रिकाले आफ्नो प्रकाशन यात्रा अघि बढाएको थियो । सीमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद पनि सत्ताका गतिविधिमाथि प्रश्न उठाउने, जनताका आवाज मुखरित गर्ने र परिवर्तनका पक्षमा जनमत निर्माण गर्ने काममा पत्रिकाले आफूलाई सक्रिय बनाउँदै आएको छ ।
पञ्चायतविरुद्धको राजनीतिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व, २०६२÷६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र स्थापनासम्मका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनलाई दृष्टिले नजिकबाट नियालेको छ । ती परिवर्तनका घटनाक्रमलाई समाचारका रूपमा मात्र होइन, विचार र विश्लेषणमार्फत पनि पाठकमाझ पु¥याउँदै आएको छ । यस क्रममा पत्रिकाले मिसन पत्रकारिताको अभ्यास गर्दै लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र जनअधिकारका पक्षमा निरन्तर आवाज उठाएको छ ।
नेपाली पत्रकारितामा समयसँगै धेरै परिवर्तन आएका छन् । हिजो समाचार संकलन, लेखन र प्रकाशनका लागि लामो समय लाग्थ्यो । लेटर प्रेसबाट सुरु भएको छापा पत्रकारिता अहिले प्रविधिको तीव्र विकाससँगै डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । पाठकको समाचार पढ्ने बानी फेरिएको छ । सूचना प्राप्त गर्ने माध्यम बदलिएका छन् । मोबाइल र इन्टरनेटको पहुँचसँगै समाचारको प्रतिस्पर्धा पनि व्यापक बनेको छ ।
यही बदलिँदो समय र पाठकको रुचिलाई आत्मसात् गर्दै दृष्टिले पनि आफ्नो पत्रकारिताको दायरा विस्तार गरेको छ । छापा माध्यमबाट सुरु भएको दृष्टिको यात्रा अहिले अनलाइन संस्करण ‘दृष्टिन्यूज डटकम’मार्फत डिजिटल पाठकमाझ पुगेको छ । समसामयिक राजनीति, अर्थतन्त्र, समाज, अन्तर्राष्ट्रिय सम्बन्ध, खेलकुद र जनसरोकारका विषयलाई समाचार, विचार, विश्लेषण तथा मल्टिमिडियामार्फत प्रस्तुत गर्दै आएको छ ।
डिजिटल माध्यममा समाचारको पहुँच र गति बढेसँगै गलत सूचना, अपुष्ट समाचार र सतही विश्लेषणको चुनौती पनि थपिएको छ । यस्तो अवस्थामा पत्रकारिताको विश्वसनीयता कायम राख्नु झनै महत्त्वपूर्ण बनेको छ । समाचार छिटो दिने प्रतिस्पर्धाभन्दा सत्यतथ्य र विश्वसनीय सूचनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । दृष्टिले पनि यही मान्यतालाई आत्मसात् गर्दै नयाँ प्रविधि र बदलिँदो पत्रकारिताको अभ्याससँगै आफ्नो मूल जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

४४औँ वर्ष प्रवेशको अवसरमा दृष्टि मिडियाका सञ्चालक तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनसँगै दृष्टि पनि परिवर्तित हुँदै आएको बताए । उनले भने, ‘मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनसँगै हामी पनि परिवर्तित हुँदै गएका छौँ । हिजो दृष्टि साप्ताहिकले छापा माध्यमका रूपमा जसरी सत्य, तथ्यमा आधारित समाचार र विचारको संगमका रूपमा आफूलाई स्थापित गरेको थियो, त्यसैगरी डिजिटल युगमा पनि सक्रिय रहने प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ ।’
श्रेष्ठले समयअनुसार पत्रकारिताको माध्यम र प्रस्तुति बदलिँदै गए पनि पत्रकारिताको मूल मर्म भने परिवर्तन हुन नहुने धारणा राखे । उनका अनुसार प्रविधिको विकासलाई आत्मसात् गर्दै पाठकसम्म पुग्ने माध्यम विस्तार गर्नु अहिलेको आवश्यकता हो । तर, समाचारको विश्वसनीयता, तथ्यपरकता र जनताप्रतिको उत्तरदायित्वलाई भने सधैँ केन्द्रमा राख्नुपर्छ ।
दृष्टिको ४३ वर्षको यात्रा केवल एउटा सञ्चारमाध्यमको प्रकाशन निरन्तरता मात्र होइन, नेपाली पत्रकारिताले पार गरेका विभिन्न राजनीतिक, सामाजिक र प्रविधिगत परिवर्तनको साक्षी पनि हो । यस अवधिमा पत्रिकाले अनेक चुनौती सामना गरेको छ । राजनीतिक व्यवस्था फेरियो, सत्ता र नेतृत्व फेरिए, सञ्चारका माध्यम फेरिए । तर, दृष्टिले आफ्नो प्रकाशन र पत्रकारिताको यात्रालाई निरन्तरता दिइरहेको छ । ४४औँ वर्षमा प्रवेशसँगै दृष्टिले विगतको अनुभवलाई आधार बनाएर आगामी यात्रा थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।


















