काठमाडौँ । युवा पुस्ताका साहित्यकार धीरेन शाहीको नयाँ उपन्यास ‘नुरिन भ्याली’ आगामी मङ्सिर १२ गते शनिबार सार्वजनिक हुने भएको छ । आधुनिक साहित्य परिषद्को आयोजनामा काठमाडौँको बालाजुस्थित पारिजात स्मृति केन्द्रमा दिउँसो १२:१५ बजे विशेष समारोहबीच पुस्तक लोकार्पण गरिने जनाइएको छ ।

नेपाली उपन्यास लेखनमा एक नवीन प्रयोगका रूपमा आएको ‘नुरिन भ्याली’ अरबको मरुभूमिमा उँट चराउँदै फिरन्ते जीवन बिताउने बेडुइन समुदायको एक गोठालोको कथामा आधारित छ । उपन्यासमा प्रेम र रहस्यमय वियोगको कथालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ । यस कृतिमा जीवन–सङ्घर्ष, जिजीविषा, जोखिमपूर्ण यात्रा, ध्येयनिष्ठा, स्वैरकल्पना, चरमपन्थ, विज्ञान, जीवन र दर्शनजस्ता बहुआयामिक विषयको संयोजन गरिएको छ । पुस्तकमा शुभकामना सन्देश समेत समावेश छ ।
गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेसनले प्रकाशन गरेको यस उपन्यासको वितरण सुख शान्ति मिडिया र न्युरोड बुक्स स्टोरले गर्नेछन् भने दक्षिणकाली अफसेट प्रेसले मुद्रण गरेको हो । पुस्तकको आवरण संयोजन सुडल राईले गरेका छन् ।
उपन्यासमा साहित्य, समालोचना, भूगर्भशास्त्र र पत्रकारिता क्षेत्रका १९ जना व्यक्तित्वका टिप्पणी समेटिएका छन् । टिप्पणी गर्नेहरूमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. शैलेन्दुप्रकाश नेपाल, वरिष्ठ भूगर्भविद् तथा लेखक प्रा.डा. तारानिधि भट्टराई, वरिष्ठ साहित्यकार तथा समालोचक डा. बमबहादुर थापा र सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ रहेका छन् । त्यसैगरी डा. ध्रुव गजुरेल, डा. के.बी. पौडेल, डा. सीता बिष्ट कार्की, दुर्गा अधिकारी ‘भमरकोटे’, शिखरनाथ ढकाल ‘बेलकोटे कवि’, द्वारिका कूइकेल, उपन्यासकार श्याम सिँघक र उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीको टिप्पणी पनि पुस्तकमा समावेश छ । साथै चन्द्रा न्यौपाने, पुष्कर अथक रेग्मी, सुशीला ढकाल अधिकारी ‘श्री’, नवीन तिवारी, रसुवाली कवि, नवीन खत्री र कवि आर्यशले पनि उपन्यासमाथि आफ्ना टिप्पणी दिएका छन् ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का स्थायी बासिन्दा धीरेन शाही हाल काठमाडौँमा बसोवास गर्दै साहित्य सिर्जनामा सक्रिय छन् । यसअघि उनको गजलसङ्ग्रह ‘घण्टाघर’ (२०८०) प्रकाशित भइसकेको छ ।


















