
चीनले बुधबार तीन अन्तरिक्षयात्रीसहित शेनझोउ–२४ मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको छ । यस अभियानमा पाकिस्तानका मुहम्मद जीशान अली पनि सहभागी छन् । उनी चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमअन्तर्गत अन्तरिक्षमा जाने पहिलो विदेशी नागरिक बनेका छन् ।
चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ क्यारियर रकेटमार्फत अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । प्रक्षेपणको केही मिनेटमै चिनियाँ अधिकारीहरूले अभियान सफल भएको घोषणा गरेका थिए ।
अभियानमा कमान्डर ताङ होङ्बो, फ्लाइट इन्जिनियर वु यी र पाकिस्तानी अन्तरिक्षयात्री जीशान अली सहभागी छन् । अली चीनको तियाङगोङ अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्रीसमेत बन्नेछन् ।
उनले अन्तरिक्षमा करिब एक साता बिताउनेछन् । त्यसपछि शेनझोउ–२३ अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम छ । चिनियाँ अन्तरिक्षयात्रीहरू भने सामान्यतया तियाङगोङ स्टेसनमा करिब छ महिना बिताउने गर्छन् । शेनझोउ–२४ प्रक्षेपण भएको करिब तीन घण्टाभित्र तियाङगोङ अन्तरिक्ष स्टेसनसँग जोडिने अपेक्षा गरिएको छ ।
चीनको आफ्नै अन्तरिक्ष स्टेसन तियाङगोङ
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सहभागी हुन नपाएपछि चीनले आफ्नै अन्तरिक्ष स्टेसन निर्माण गरेको हो । चिनियाँ सेनाको सम्भावित संलग्नतालाई लिएर सुरक्षा चासो व्यक्त गरिएपछि चीनलाई आईएसएसमा सहभागी नगराइएको बताइन्छ ।
चीनले सन् २०२२ देखि तियाङगोङ अन्तरिक्ष स्टेसन सञ्चालनमा ल्याएको हो । हाल आफ्नै अन्तरिक्ष स्टेसन सञ्चालन गर्ने देशका रूपमा चीन रहेको छ । तियाङगोङ अन्तरिक्ष स्टेसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको तुलनामा निकै सानो छ । आईएसएस सन् १९९८ मा प्रक्षेपण भएयता विभिन्न देशका अन्तरिक्षयात्रीहरूले त्यहाँ तीन हजारभन्दा बढी वैज्ञानिक प्रयोग गरिसकेका छन् ।
यसैबीच, अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०३१ को सुरुवाततिर आईएसएसलाई सेवाबाट हटाउने योजना बनाएको छ । स्पेसएक्सले विकास गर्ने विशेष अन्तरिक्षयानको सहायताले आईएसएसलाई नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलमा प्रवेश गराई दक्षिण प्रशान्त महासागरमा खसाल्ने योजना छ ।
शेनझोउ–२४ अभियानका उद्देश्य
चिनियाँ अधिकारीहरूका अनुसार शेनझोउ–२४ अभियानको मुख्य उद्देश्य तियाङगोङ अन्तरिक्ष स्टेसनमा रहेका शेनझोउ–२३ का अन्तरिक्षयात्रीसँग चालक दलको जिम्मेवारी हस्तान्तरण गर्नु हो ।
यसका अतिरिक्त अन्तरिक्ष स्टेसनको नियमित सञ्चालन, वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार, सार्वजनिक जानकारी प्रवाह तथा नयाँ प्रविधिको परीक्षण पनि अभियानका उद्देश्य हुन् ।
अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधिसम्बन्धी परीक्षण गर्ने योजना छ । अन्तरिक्षमा जीवविज्ञान, पदार्थ विज्ञान, सूक्ष्म गुरुत्वाकर्षणमा तरल पदार्थको व्यवहार, दहन विज्ञान, आधारभूत भौतिकशास्त्र र अन्तरिक्ष चिकित्सा यसका प्रमुख अनुसन्धान क्षेत्र हुन् ।
त्यस्तै, नयाँ अन्तरिक्ष प्रविधिको परीक्षणसमेत गरिने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।


















