
उमेरले १६ वर्ष पुग्नै लागेका भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले विश्व क्रिकेटमा असाधारण छाप छाडेका छन् । राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्ध मंगलबार भएको खेलमा उनले एउटै इनिङमा ६ वटा व्यक्तिगत कीर्तिमान बनाएका छन् । उनको विस्फोटक ब्याटिङकै कारण भारत ‘ए’ ले २५० रनको विशाल लक्ष्य केवल १४.२ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको छ ।
कतारको दोहामा भएको खेलमा सूर्यवंशीले विपक्षी बलरमाथि आक्रामक ब्याटिङ गर्दै कीर्तिमानको वर्षा गरे । उनले केवल ५२ बलमा दोहोरो शतक पूरा गरे । यो लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो बनाइएको दोहोरो शतक हो । यसअघि न्युजिल्यान्डका चाड बोवेसले सन् २०२४ मा १०३ बलमा दोहोरो शतक बनाएका थिए ।
सूर्यवंशीले २८ बलमै शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटको सबैभन्दा छिटो शतकको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । यसअघि अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कले सन् २०२३ मा २९ बलमा शतक बनाएर यो कीर्तिमान राखेका थिए ।
त्यस्तै, उनले ४० बलमै १५० रन पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो १५० रन बनाउने खेलाडी बने । यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो । उनले सन् २०२५ मा बिहारबाट खेल्दै अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १५० रन बनाएका थिए ।
यूएईविरुद्धको खेलमा सूर्यवंशीले २८ छक्का प्रहार गरे । यो लिस्ट ‘ए’ क्रिकेटको एकै इनिङमा कुनै पनि खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो । यससँगै उनले व्यावसायिक क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत बनाए । यसअघि तन्मय अग्रवालले सन् २०२४ मा रणजी ट्रफीमा हैदराबादबाट खेल्दै २६ छक्का प्रहार गरेका थिए ।
योसँगै सूर्यवंशीले ४० भन्दा कम बलमा शतक बनाएको पाँचौँपटक हो । यसअघि सन् २०२५ मा यूएईविरुद्ध नै टी–२० क्रिकेटमा उनले ३२ बलमा शतक बनाएका थिए । त्यस्तै, उनले यस खेलमा ३८४.९० को स्ट्राइक रेटमा रन बनाउँदै लिस्ट ‘ए’ क्रिकेटमा कम्तीमा १०० रन बनाउने खेलाडीमध्ये सर्वाधिक स्ट्राइक रेटको कीर्तिमान पनि कायम गरे । यसअघि दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३३८.६३ को स्ट्राइक रेटमा १४९ रन बनाएका थिए ।
सूर्यवंशीको अविश्वसनीय प्रदर्शनसँगै भारत ‘ए’ ले पनि तीनवटा टोलीगत कीर्तिमान बनाएको छ । भारतले केवल पाँच ओभरमै १०० रन पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो टोलीगत शतक बनायो । त्यस्तै, २०० भन्दा बढी रनको लक्ष्य सबैभन्दा छिटो पूरा गर्ने कीर्तिमान पनि भारत ‘ए’ कै नाममा रह्यो । टोलीले खेलमा ३१ छक्का प्रहार गर्दै लिस्ट ‘ए’ क्रिकेटको एकै खेलमा दोस्रो सर्वाधिक छक्का प्रहार गर्ने टोलीको उपलब्धिसमेत हासिल गर्यो ।
यसरी १६ वर्ष नपुग्दै सूर्यवंशीले विश्व क्रिकेटका स्थापित कीर्तिमान भत्काउँदै आफ्नो प्रतिभाको परिचय दिएका छन् । उनको प्रदर्शनले भारतीय क्रिकेटमा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमै नयाँ बहस सिर्जना गरेको छ ।


















