
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरू सोमबार राति काठमाडौं ओर्लिएका थिए। विमानस्थलमा उनीहरूको गतिविधि शङ्कास्पद देखिएपछि सुरक्षा जाँच गरिएको थियो। सोही क्रममा उनीहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई ल्याएको अवस्थामा आठ थान गोलाकार पहेँलो अर्धठोस पदार्थ फेला परेको हो।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट प्लास्टिकको र्यापसहित कुल दुई किलो ३४८ ग्राम तौल भएको उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लिन लिना साथबाट प्लास्टिकसहित एक हजार ३४० ग्राम तौल भएका पाँच थान र लिन सिनपिङको साथबाट एक हजार आठ ग्राम तौल भएका तीन थान गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले शङ्कास्पद रूपमा सुन लुकाएर ल्याएको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै महिलालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।
बरामद भएको पदार्थ वास्तविक सुन हो वा होइन भन्नेबारे परीक्षण तथा अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।


















