
काठमाडौँ । अयोध्याबाट जनकपुरधामसम्म सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेसले धार्मिक पर्यटन र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । यही अवसर उपयोग गर्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जनकपुरधामका युवालाई पर्यटक पथप्रदर्शक (टुरिस्ट गाइड) तालिम लिएर दक्ष बन्न आग्रह गरेका छन् ।
मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकी मन्दिर, राम मन्दिर, मिथिला संस्कृति र धनुषाधामलगायतका धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान विश्वभर पुर्याउन दक्ष स्थानीय गाइड आवश्यक रहेको बताएका हुन् ।
रेल सेवाले दुई धार्मिक नगरीलाई जोडेसँगै तीर्थयात्री तथा पर्यटकको आवागमन बढ्ने र उनीहरूलाई स्थानीय इतिहास, धर्म तथा संस्कृतिबारे जानकारी दिन सक्ने सीपयुक्त जनशक्तिको मागसमेत बढ्ने उनले बताएका छन् ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गर्न लागेको टुरिस्ट गाइड तालिममा सहभागी हुन युवालाई आग्रह गरेका छन् ।
‘सीप सिकौँ, पर्यटकलाई स्वागत गरौँ र आफ्नै भूमिमा रोजगारी सिर्जना गरौँ’ भन्दै मन्त्री यादवले विदेश पलायन हुनुभन्दा स्वदेशमै उपलब्ध अवसरको उपयोग गर्न युवालाई प्रेरित गरेका छन् ।
धार्मिक पर्यटनलाई व्यवस्थित बनाउन र पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न तालिमप्राप्त स्थानीय गाइडले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


















