
काठमाडौँ । चार वटा श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले गरेको निरीक्षणमा २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध नभएको पाइएको छ ।
त्यस्तै, रोजगार सम्झौताबिनै श्रमिकलाई काममा लगाउने, न्यूनतम पारिश्रमिक नदिने र श्रम ऐनले तोकेका बिदा तथा ओभरटाइमको व्यवस्था पालना नगर्ने प्रतिष्ठानसमेत भेटिएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका श्रम तथा रोजगार कार्यालय पोखरा, नेपालगन्ज, बुटवल र धनुषा तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र काठमाडौंले मङ्सिर ८ गते २८ वटा प्रतिष्ठानमा दैनिक श्रम निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रम अडिट, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (ओएसएच) नीति, कार्यसमय, अतिरिक्त समयको काम र बिदासम्बन्धी व्यवस्थाको अवस्था जाँच गरिएको थियो ।
निरीक्षण गरिएका २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएको हो । काठमाडौंका १२ प्रतिष्ठानका १७४ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, बुटवलका चार प्रतिष्ठानका ३२ जना र नेपालगन्जका दुई होटलका १३ जना कर्मचारी कोषबाहिर रहेको पाइएको छ ।
त्यस्तै, प्रतिष्ठानहरूले श्रमिकलाई रोजगार सम्झौता वा नियुक्तिपत्रसमेत नदिएको पाइएको छ । काठमाडौंका तीन प्रतिष्ठानका ११ जना, नेपालगन्जका १३ जना र बुटवलका आठ जना गरी ३२ कर्मचारीसँग रोजगार सम्झौता वा नियुक्तिपत्र नभएको विवरणमा उल्लेख छ । पोखराका छ प्रतिष्ठानका ४६ कर्मचारीसँग पनि रोजगार सम्झौता नभएको पाइएको छ ।
न्यूनतम पारिश्रमिकको हकमा पनि उल्लंघन भएको देखिएको छ । पोखराका छ प्रतिष्ठानका ४६ जना, नेपालगन्जका दुई होटलका १३ जना र बुटवलका दुई होटलका आठ जना गरी १० प्रतिष्ठानका ६७ कर्मचारीले न्यूनतम पारिश्रमिक नपाएको निरीक्षणले देखाएको छ ।
पोखराका छ प्रतिष्ठानमा कार्यरत ४६ कर्मचारीका हकमा ओभरटाइम र बिदासम्बन्धी व्यवस्था पनि श्रम कानुनअनुसार नभएको पाइएको छ । यसैगरी, काठमाडौंका तीन प्रतिष्ठानका १६ जना, पोखराका छ प्रतिष्ठानका ४६ जना, नेपालगन्जका तीन प्रतिष्ठानका ४० जना र धनुषाको एक प्रतिष्ठानका ६५ जना गरी विभिन्न प्रतिष्ठानले श्रम अडिटसमेत पेस नगरेको पाइएको छ ।
निरीक्षणपछि टोलीले सम्बन्धित प्रतिष्ठानहरूलाई सबै श्रमिकसँग रोजगार सम्झौता गर्न, न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन दिएको छ । त्यस्तै, श्रम ऐनअनुसार बिदा तथा अतिरिक्त समयको पारिश्रमिक उपलब्ध गराउन र माग गरिएका विवरण समयमै पेस गर्न पनि निर्देशन दिइएको छ ।


















