Logo
Logo

नेवाः पहिचानमाथि प्रश्न : दलित सूचीमा रहेका ४० थर हटाउन माग

'स्थगन होइन खारेजी चाहियो'


सिर्जना दुवाल

0
Shares

नेपाल राजपत्रमा प्रकाशित दलित सूचीमा झण्डै ४० वटा नेवाः थर समावेश भएपछि नेवार समुदायभित्र असन्तुष्टि बढेको छ । नेवाः देय् दबूले सूचीबाट ती थर हटाउन माग गर्दै राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले सूची स्थगनका लागि सिफारिस गरेको भनिए पनि अभियन्ताहरूले भने राजपत्रबाटै पूर्ण रूपमा हटाउनुपर्ने माग गरेका छन् ।

राज्यले कुनै समुदायको पहिचानलाई कसरी बुझ्छ र त्यसको अभिलेखीकरण कसरी गर्छ ? पहिचानसँग जोडिएको निर्णय गर्दा सम्बन्धित समुदायको आवाजलाई कति महत्त्व दिइन्छ ? यतिबेला नेवाः समुदायभित्र यस्ता प्रश्न उठिरहेका छन् ।

नेपाल राजपत्रमा २०८३ असोज ८ गते प्रकाशित सूचनामा झण्डै ४० वटा नेवाः थर दलित सूचीमा समावेश भएपछि समुदायका विभिन्न संघसंस्था, अभियन्ता र संस्कृतिविद्हरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । शाक्य, श्रेष्ठ, प्रधान, तुलाधर, ताम्रकार, कर्माचार्य, चित्रकार, मल्ल, प्रधान ताम्रकार, तुलाधर, लाखे, नेवाः, बनेपाली, राजवंशी लगायतका थर सूचीमा समावेश भएपछि नेवाः समुदायले आफ्नो ऐतिहासिक पहिचान र सामाजिक अस्तित्वमाथि प्रश्न उठेको महसुस गरेको छ ।

यो विषय नेवाः समुदायको ऐतिहासिक पहिचान, आत्मपहिचान, सांस्कृतिक अस्तित्व र राज्यले समुदायलाई हेर्ने दृष्टिकोणसँग जोडिएको छ ।

नेवाः समुदायको आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा, सामाजिक संरचना र लामो सभ्यताको इतिहास छ । आदिवासी जनजातिका रूपमा सूचीकृत नेवाः समुदायका मौलिक थरहरूलाई पर्याप्त अध्ययन र समुदायसँग परामर्श नगरी अर्को सामाजिक वर्गीकरणमा राखिएको भन्दै प्रश्न उठाइएको हो ।

२४ वर्षअघिको प्रश्न

नेवाः सांस्कृतिक अभियन्ता मल्ल के. सुन्दरका अनुसार नेवाः थरलाई दलित सूचीमा समावेश गर्ने विषय अहिले पहिलोपटक उठेको होइन । करिब २४ वर्षअघि राष्ट्रिय दलित आयोगका तत्कालीन अध्यक्ष पदमलाल विश्वकर्माको कार्यकालमा पनि कुश्ले (दर्शनधारी), धोबी (रजक), खड्गी र पोडे लगायतका समुदायलाई दलित सूचीमा समावेश गर्ने प्रयास भएको थियो ।

त्यतिबेला नेवाः समुदायका विभिन्न संघसंस्थाले आफूहरू आदिवासी जनजाति भएको उल्लेख गर्दै औपचारिक रूपमा आपत्ति जनाएका थिए । सुन्दरका अनुसार त्यसपछि सूची सच्याइएको थियो ।

“त्यतिबेला हामी सबै गएर नेवाः समुदाय आदिवासी जनजाति हो, कसरी दलित भनेर आधिकारिक पत्र दिएका थियौँ । त्यसबेला नै सच्याउन लगाएका थियौँ,” उनी सम्झन्छन् ।

यसपटक भने पर्याप्त अध्ययन र छलफल नगरी थरहरू सूचीमा समावेश गरिएको भन्दै उनले प्रश्न उठाएका छन् । उनका अनुसार कुनै समुदायको सामाजिक तथा सांस्कृतिक इतिहास बुझ्न त्यस समुदायका जानकार, संस्कृतिविद्, सम्पदाविद् र अध्येतासँग परामर्श गर्नु आवश्यक हुन्छ ।

“दलित आयोगले थरहरू सूचीकृत गर्दा सरोकारवाला, एकेडेमिक रिसर्च, सम्पदाविद् र संस्कृतिविद्हरूसँग छलफल गर्‍यो कि गरेन ? चार–पाँच जना सदस्य कोठामा बसेर आजदेखि यी थरहरू दलित हुन् भनेर राजपत्रमै लेख्न मिल्छ ?” उनी प्रश्न गर्छन् ।

यो प्रशासनिक सूचीको विषय मात्र होइन । समुदायको मौलिक पहिचान, सांस्कृतिक इतिहास र सम्पदासँग जोडिएको संवेदनशील प्रश्न पनि हो । कुनै थरलाई एउटै आधारमा वर्गीकरण गर्दा त्यसको ऐतिहासिक पृष्ठभूमि र समुदायको आत्मपहिचानलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ ।

राजपत्रबाटै हटाउनुपर्ने माग

राजपत्रमा सूची प्रकाशित भएपछि नेवाः समुदायका विभिन्न तहबाट विरोध र असन्तुष्टि व्यक्त हुन थालेको छ । यही क्रममा नेवाः देय् दबूले मंसिर ६ गते राष्ट्रिय दलित आयोगमा ज्ञापनपत्र बुझाउँदै सूचीबाट नेवाः थरहरू हटाउन माग गरेको थियो ।

दबूले सूचीकरणको आधार, अध्ययन प्रक्रिया र सम्बन्धित समुदायसँग गरिएको परामर्शबारे प्रश्न उठाएको छ । समुदायको ऐतिहासिक पहिचान र सामाजिक यथार्थलाई ध्यानमा राखेर निर्णय पुनरावलोकन गर्नुपर्ने माग राखिएको दबूकी अध्यक्ष रश्मिला प्रजापती बताउँछिन् ।

ज्ञापनपत्र बुझाएपछि मंसिर ९ गते दबूका प्रतिनिधिहरूले राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरसँग पनि भेट गरेका थिए । भेटमा दबूकी अध्यक्ष रश्मिला प्रजापति, महासचिव श्रीकृष्ण महर्जन नेवाः तथा सचिवहरू मच्छराज महर्जन र सिर्जनमान श्रेष्ठ सहभागी थिए । अध्यक्ष थापाले यस विषयमा दलित आयोगसँग पनि कुरा गरेको र आवश्यक भूमिका निर्वाह गर्ने बताएका थिए ।

यसैबीच, राष्ट्रिय दलित आयोगले सूची स्थगन गर्ने निर्णय गरेको भन्ने विवरण सार्वजनिक भएको छ । आयोगको बैठकबाट तत्कालका लागि सूची स्थगन गर्न सिफारिस गरिएको कागजातसमेत बाहिर आएको बताइएको छ । तर अभियन्ताहरू यसलाई पर्याप्त समाधान मान्न तयार छैनन् ।

उनीहरूको भनाइमा सूची स्थगनले भविष्यमा पुनः कार्यान्वयन हुन सक्ने सम्भावना बाँकी राख्छ । त्यसैले राजपत्रमा प्रकाशित दलित थरहरूको सूचीबाट नेवाः थरहरू औपचारिक रूपमा हटाइनुपर्ने उनीहरूको माग छ । यसका लागि सरकारले आवश्यक निर्णय गरी अर्को राजपत्रमार्फत संशोधन वा खारेजीको सूचना प्रकाशित गर्नुपर्ने उनीहरू बताउँछन् ।

राजपत्र सच्याउने दायित्व सरकारकै : जलद वैद्य

यस विषयमा सामाजिक सञ्जालमार्फत पनि अभियन्ताहरूले सरकारको जिम्मेवारीमाथि प्रश्न उठाइरहेका छन् । अभियन्ता जलद वैद्यले राजपत्रमा प्रकाशित सूचना सच्याउने दायित्व सरकारकै भएको बताएका छन् ।

उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “राजपत्र निकाल्ने सरकार, अब सच्याउने दायित्व पनि सरकारकै ।”

वैद्यका अनुसार राष्ट्रिय दलित आयोगले वक्तव्य जारी गरेर सूची स्थगन गरेको भन्दैमा राजपत्रमा प्रकाशित सूचना स्वतः खारेज हुँदैन । आयोगले सिफारिस गर्ने भए पनि राजपत्रमा सूचना प्रकाशन गर्ने सरकारी प्रक्रिया भएकाले त्यसलाई संशोधन वा खारेज गर्न सरकारले नै औपचारिक निर्णय गर्नुपर्ने उनको तर्क छ ।

“जसरी सरोकारवाला निकायहरूसँग समन्वय नगरी र पर्याप्त परीक्षणबिना सूची राजपत्रमा छापेर सरकारले गल्ती गर्‍यो, अब त्यो गल्ती सच्याउने मुख्य जिम्मेवारी र दायित्व पनि नेपाल सरकारकै काँधमा छ,” उनले लेखेका छन् ।

त्यस्तै, अभियन्ता राजाराम तण्डुकारले पनि झण्डै ४० वटा नेवाः थर दलित सूचीमा समावेश गरिएको विषयमा आफूहरू राष्ट्रिय दलित आयोग पुगेको उल्लेख गर्दै समुदायका सदस्यलाई आफ्ना लागि आफैँ आवाज उठाउन आग्रह गरेका छन् ।

“राष्ट्रिय दलित आयोगको सो कुरा मलाई त चित्त बुझेन, तपाईंहरूलाई चित्त बुझेको भए राष्ट्रिय दलित आयोगलाई धन्यवाद भनेर कमेन्ट गर्नुस् । चित्त नबुझेको भए आफ्नो लागि आफैँ पनि आवाज उठाउनुस्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भन्दै पहिचानको विषयमा समुदायका सदस्यहरू मौन बस्न नहुने सन्देश दिएका छन् ।

एउटै थर, फरक सामाजिक इतिहास

यस विवादको अर्को महत्त्वपूर्ण पक्ष एउटै थर फरक समुदायमा पनि प्रचलनमा हुन सक्नु हो । कुनै व्यक्तिको थरका आधारमा मात्रै उसको जातीय, सांस्कृतिक वा सामाजिक पहिचान निर्धारण गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न यसले उठाएको छ ।

नेपालको सामाजिक संरचना र इतिहास जटिल छ । एउटै थर विभिन्न भौगोलिक क्षेत्र, समुदाय र ऐतिहासिक पृष्ठभूमिमा प्रयोग भएको पाइन्छ । त्यसैले थरलाई मात्र आधार मानेर कुनै व्यक्तिको सामाजिक अवस्था वा समुदायगत पहिचान निर्धारण गर्नु पर्याप्त हुँदैन ।

नेवाः समुदायभित्र पनि विभिन्न जातीय तथा सामाजिक समूह छन् । उनीहरूको पेसा, परम्परा, धार्मिक अभ्यास र सामाजिक इतिहास फरक छन् । समुदायभित्र ऐतिहासिक रूपमा विभेद र छुवाछूत भोगेका समूहका अनुभवलाई पनि बेवास्ता गर्न मिल्दैन । तर कुनै समुदायभित्र विभेदको इतिहास हुनु र त्यस समुदायको समग्र ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई एउटै प्रशासनिक वर्गीकरणमा राख्नु फरक विषय हुन् ।

पहिचानको निर्णयमा समुदायको आवाज सुनियोस्

नेपालले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ अनुमोदन गरेको छ । यसले आदिवासी जनजातिको आत्मपहिचानलाई महत्त्वपूर्ण आधारका रूपमा स्वीकार गर्नुका साथै उनीहरूलाई असर पार्ने विषयमा परामर्श र सहभागिताको आवश्यकतामा जोड दिन्छ ।

यस सन्दर्भमा नेवाः समुदायका अभियन्ताहरूले सूचीकरणअघि पर्याप्त अध्ययन, ऐतिहासिक अनुसन्धान र सरोकारवाला समुदायसँग अर्थपूर्ण छलफल हुनुपर्ने बताएका छन् । उनीहरूको माग सूचीबाट थर हटाउने विषयमा मात्र सीमित छैन । भविष्यमा कुनै पनि समुदायको पहिचानसँग जोडिएको निर्णय गर्दा सम्बन्धित समुदायको सहभागिता सुनिश्चित गरिनुपर्ने उनीहरूको अर्को माग छ ।

दलित समुदायको अधिकार र सामाजिक न्यायका लागि काम गर्नु राज्यको महत्त्वपूर्ण दायित्व हो । त्यसैगरी, आदिवासी जनजातिको ऐतिहासिक पहिचान र आत्मनिर्णयको सम्मान गर्नु पनि राज्यकै जिम्मेवारी हो । एउटा समुदायको न्याय सुनिश्चित गर्ने क्रममा अर्को समुदायको पहिचानमा अन्योल सिर्जना हुनु हुँदैन ।

मल्ल के. सुन्दरका अनुसार नेवाः समुदायको अहिलेको माग सूचीकरणको आधार सार्वजनिक गरिनुपर्ने, सम्बन्धित समुदायका प्रतिनिधि र विज्ञसँग छलफल हुनुपर्ने, ऐतिहासिक तथा सामाजिक यथार्थका आधारमा पुनरावलोकन गरिनुपर्ने र सरकारले यसबारे स्पष्ट निर्णय लिनुपर्ने हो ।

माग पूरा गर्न सूचीकृत गरियो : अध्यक्ष देवलाल विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवलाल विश्वकर्माका अनुसार पुख्र्यौली खोजीका क्रममा आफ्नो वास्तविक थर र पहिचान थाहा पाएपछि केही व्यक्तिले आफ्नै थर लेख्न पाउनुपर्ने माग गरेका थिए । त्यही मागलाई सम्बोधन गर्न ती थरहरू सूचीमा समावेश गरिएको हो ।

उनका अनुसार विगतमा अन्तरजातीय विवाह हुँदा महिलाले आफ्नो थर वा जात परिवर्तन गरेर श्रीमान्को जातअनुसार परिचय दिनुपर्ने चलन थियो । त्यस्तै, तल्लो जातकी महिलासँग विवाह गर्दा पुरुषको पनि जात झार्ने चलन थियो । यस्तो अवस्थामा श्रेष्ठले विश्वकर्मासँग विवाह गर्दा उनी स्वतः विश्वकर्मा वा त्यस्तै जातमा झर्ने अवस्था थियो ।

तर पछिल्लो समय नयाँ पुस्ताले आफ्नो पुर्खाको पहिचान र इतिहास खोज्न थालेपछि आफ्नो मूल थर र जातीय पहिचान कायम राख्न पाउनुपर्ने माग उठ्न थालेको हो । पुख्र्यौली खोजीका क्रममा वास्तविक थर र पहिचान थाहा पाएपछि केही व्यक्तिले आफ्नै थर लेख्न पाउनुपर्ने माग गरेको र त्यही आधारमा आयोगले ती थरहरू सूचीकृत गरेको अध्यक्ष विश्वकर्मा बताउँछन् ।

उनका अनुसार यो निर्णय गर्नुअघि संस्कृतिविद्, समाजशास्त्री वा प्राज्ञिक अनुसन्धानकर्ताहरूसँग पर्याप्त छलफल र परामर्श भने गरिएको थिएन । सम्बन्धित व्यक्तिहरूको माग सम्बोधन गर्ने उद्देश्यले मात्रै यो प्रक्रिया अघि बढाइएको थियो ।

‘यो आम प्रयोगका लागि मात्रै गरिएको व्यवस्था हो,’ उनले दृष्टिसँगको कुराकानीमा भने, ‘तर यस विषयमा व्यापक विरोध भएपछि आयोगले तत्कालका लागि निर्णय स्थगन गरेको छ ।’

उनले हाललाई उक्त सूची हटाउने विषयमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको जानकारी दिए । यद्यपि, यस विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले स्पष्ट नीति बनाउन आवश्यक रहेको उनी बताउँछन् ।

‘आफ्नो पुख्र्यौली थर र पहिचान कायम राख्न चाहने व्यक्तिहरूको हकलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000