
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि नागरिकस्तरसम्म सचेतना अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही प्रक्रिया, विश्वास गर्नुपर्ने निकाय, ठगीबाट बच्ने उपाय र समस्या परे सम्पर्क गर्नुपर्ने निकायबारे जानकारी गराउन आवश्यक रहेको बताएकी हुन् ।
उनले राजनीतिमा आएदेखि नागरिकबाट सबैभन्दा धेरै सुनिएका गुनासामध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक रहेको उल्लेख गरेकी छन् ।
यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका काम भइरहेको उनको भनाइ छ ।
तर, प्रणाली सुधार गरेर मात्र नपुग्ने भन्दै मन्त्री गौतमले नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक रहेको बताएकी छन् ।
यसै उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा विशेष पहल गर्न लागिएको उनले जानकारी दिएकी छन् । उक्त पहल छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ ।


















