
काठमाडौं । सरकारले सातै प्रदेशमा आठ सय ३८ विशेषज्ञ चिकित्सक खटाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको हो ।
मन्त्रालयको विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २०८, कोशीमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् । त्यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक खटाइएका छन् ।
खटाइएकामध्ये ५११ जना चिकित्सक प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन् भने बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएका छन् । सङ्घीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था छ ।
यसबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा सुदृढ भई सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।



















