
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणको अन्तिम बिल भुक्तानी गरिदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिनुपर्नेमा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख तथा हैरानी दिई चौधरीले एक लाख ५० हजार रुपैयाँ घुस लिएका थिए । उक्त रकम घुसबापत लिई भ्रष्टाचार गरेको आरोपमा आयोगले चौधरीविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी एक लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यसैगरी बिगोबमोजिम जरिवाना र कैद सजाय हुनसमेत माग गरिएको आयोगले जनाएको छ ।



















