ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेस्थित श्री निलगिरी माध्यमिक विद्यालयले शैक्षिक विकास तथा संस्कारयुक्त शिक्षा सञ्चालनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गर्ने भएको छ ।

विद्यालयले यही मंसिर २३ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको हो । महायज्ञमा युवा पण्डित श्री रमेश कोइरालाको मुखारविन्दबाट भागवत कथा वाचन हुने आयोजकले जनाएको छ । साथै, विभिन्न ख्यातिप्राप्त कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।
विद्यालयमा उच्च शिक्षा तथा प्रविधिमैत्री सिकाइ वातावरणसहित संस्कारयुक्त शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञलाई सफल बनाउन विद्यालयले आर्थिक सहयोगका लागि विभिन्न सहयोग रकमअनुसार सम्मानको व्यवस्था पनि सार्वजनिक गरेको छ ।
जसअनुसार ५ लाख रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दातालाई ताम्रपत्र प्रदान गरिनेछ । उनीहरूको नाम श्रीमान्–श्रीमतीसहित विद्यालयको वेबसाइट तथा स्मारिका पुस्तकमा तीनपुस्ते विवरणसहित प्रकाशित गरिनेछ । त्यस्तै, ४ तोला चाँदीको मुकुट, सुनौलो फ्रेममा प्रशंसापत्र, फूलमाला, दोसल्ला र बाजागाजासहित विद्यालय परिक्रमा गराउने व्यवस्था गरिएको छ ।
त्यस्तै, ३ लाखदेखि ५ लाख रुपैयाँभन्दा कम सहयोग गर्ने दातालाई ३ तोला चाँदीको मुकुटसहित यस्तै सम्मान गरिनेछ । १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई २ तोला चाँदीको मुकुट प्रदान गरिनेछ । १ लाखदेखि १ लाख ५० हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई सुनौलो फ्रेममा प्रशंसापत्र, फूलमाला र दोसल्लासहित सम्मान गरिनेछ ।
७५ हजारदेखि १ लाख रुपैयाँभन्दा कम सहयोग गर्नेलाई चाँदीको फ्रेममा प्रशंसापत्र र रामनामी दोसल्ला प्रदान गरिनेछ । ५० हजारदेखि ७५ हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई पनि चाँदीको फ्रेममा प्रशंसापत्र र रामनामी दोसल्लासहित सम्मान गरिने व्यवस्था छ ।
त्यस्तै, २५ हजारदेखि ५० हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई वेबसाइट तथा स्मारिकामा विवरण प्रकाशन, चाँदीको फ्रेममा प्रशंसापत्र र रामनामी दोसल्ला प्रदान गरिनेछ ।
१० हजारदेखि २५ हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई सामान्य फ्रेममा प्रशंसापत्र, सभानायक र रामनामी दोसल्ला प्रदान गरिनेछ । ५ हजारदेखि १० हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई सानो फ्रेमसहित प्रशंसापत्र र रामनामी दोसल्ला तथा ५ हजार रुपैयाँभन्दा कम सहयोग गर्नेलाई प्रशंसापत्र र फूलमालाले सम्मान गरिने आयोजकले जनाएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण र संस्कारयुक्त शिक्षाको विकास गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महायज्ञमा सहभागी भई सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।



















