
मेरो नाम यशोदा कर्माचार्य । म ललितपुरकी स्थायी बासिन्दा । एक जना साधारण गृहणी हुँ । मुख्यतः घरधन्दामै व्यस्त रहने, परिवारका सदस्यहरूको खानपानको प्रबन्ध गर्ने । दिन यसरी नै बित्छ मेरो । अचेल म जबजब किनमेल गरेर फर्किन्छु । अचाक्ली बजारभाउ बढेको देखेर अत्यास लाग्छ ।
पहिलेपहिले भान्सामा आज कुन परिकार पकाउने होला भन्ने चिन्ता हुन्थ्यो, अचेल हिसाब गरेर के पकाउने सोच्नुपर्ने बेला आयो । बजारबाट चामल, दाल, तेल, नुन, तरकारीलगायतका आवश्यक सामान किनेर ल्याएपछि केही दिन ढुक्क हुन्थ्यो । घरमा पाहुना आउँदा होस् वा अचानक केही मीठो परिकार पकाउन मन लाग्दा, भान्सामा आवश्यक सामान प्रायः जुटेकै हुन्थ्यो । आज पनि नजुट्ने त होइन तर बढ्दो महँगीले भान्सा चलाउनु अब सहज छैन ।
हामी सगोलमै बस्छौँ । संयुक्त परिवार छ हाम्रो । सासू–ससुरा, देवर–देवरानी सबै सँगै छाँै । तर, भान्साचाहिँ फरक–फरक छ । म, श्रीमान्, एक छोरा र एक छोरीको भान्सा मेरो जिम्मेवारी हो । चार जनाको परिवारको भान्सा खर्च बढेको देखेर ताज्जुब लाग्छ । केही वर्षअघिको तुलनामा अब भान्सा चलाउनु सहज छैन ।
एक हजार लिएर पहिले बजार जाँदा दूध, तरकारीलगायतका सामान किन्दा झोला गह्रुङ्गै हुन्थ्यो । अहिले दुई मुठा साग किन्नुपर्दा डेढ–दुई सय लाग्छ । एक हजार लिएर बिहानको किनमेलमा निस्किँदा त नपुग्ने बेला आयो । बजारबाट फर्किँदा झोला हलुका हुन्छ, तर खर्च भने निकै भारी ।
म नियमित खर्चको योजना बनाएर नै बजार निस्किने गर्छु । दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, फलफूल, दूध, दही, सागसब्जी, मरमसला, यस्तैयस्तै सामानहरू त हो, हामी सबैले किन्ने । यी आधारभूत दैनिक उपभोग्य सामान किन्न पनि असहज हुने अवस्था मूल्य बढ्दा हुन थालेको आभास हुन्छ । पहिलेपहिले घर चलाउने खर्चबाटै जोहो गरेर आफूलाई मन लागेको र रुचि भएका सामान किन्न धेरै सोच्नु पर्दैनथ्यो । अब, त्यस्तो छैन । हरेक खर्च सोचीविचारी नै गर्नुपर्छ ।
गत वर्ष जिरामसिनो एक बोरा दुई हजार २०० मा आउँथ्यो । अहिले दुई हजार ८०० पुगेछ । लङ्गग्र्रेन्ट नेवारी तीन हजार २०० मा पाइने अहिले तीन हजार ८०० पुगेको छ । ताइचिन चिउरा केजीको १५० थियो, यो वर्ष १७५ पुगेछ । रहरको दाल १७५ बाट २६० पुगेछ, अन्डा ४५० थियो । अहिले २०० बढेको छ । दैनिक चाहिने यस्ता खाद्य सामग्रीको सूची लामै हुन्छ । सबैथोकमा मूल्य बढेको छ ।
यो महँगीले मजस्तै अरु गृहिणीहरूलाई पनि घरको अर्थतन्त्र र व्यवस्थापनमा कति ठूलै चुनौती थपेको छ । कहिलेकाहीँ त सोच्छु, यी कुरा कसलाई भन्ने होला । मिल्ने भए त गृहिणीहरू मिलेर सरकारलाई भन्नै जानुपर्छ भन्ने पो लाग्ने रहेछ ।
आमा भएपछि आफ्नो रहरभन्दा पहिले छोराछोरीको आवश्यकता हेर्नुपर्छ । उनीहरूको खाजा, खानपान र पोषणमा ध्यान दिनैप¥यो । बच्चाहरू हुर्किँदै छन् । छोरी १२ कक्षा र छोरा ११ मा पढ्छन् । उनीहरूको खानेकुराको माग र खर्च पनि बढिरहेको छ । फलफूल, दूध, अण्डा र पोषिलो खानेकुरा नियमित दिनुपर्छ भन्ने थाहा छ । तर सबै कुरा चाहेजति किन्न सकिने अवस्था छैन । खर्च धान्नुपर्ने बाध्यता र बच्चाहरूलाई राम्रो खान दिनुपर्ने जिम्मेवारीबीच सधैँ हिसाब मिलाउनुपर्छ ।
बजार जाँदा पनि पहिलेजस्तो मन लागेको सामान किन्ने होइन । पहिले मूल्य सोधिन्छ, अनि आवश्यक छ कि छैन भनेर सोचिन्छ । कतै सस्तो पाइन्छ कि भनेर पसलपसल चहार्नुपर्छ । किनमेल गर्नुअघि सूची बनाउने र सूचीबाट पनि केही सामान हटाउने बानी परेको छ, अहिले ।
गत वर्ष र अहिलेको मात्रै पनि बजारभाउ तुलना गर्दा पनि आकाश–जमिनको फरक देखिन्छ । बिहान तरकारी किन्न जाँदा मूल्य सुनेरै झस्किन्छु म त । काउली किलोको २२० रुपैयाँ, गोलभेँडा १८० रुपैयाँ । भिन्डी, भान्टा र करेलाजस्ता सामान्य तरकारीसमेत पाउको ५० रुपैयाँसम्म पुगे यसबीचमा । चिनीको मूल्य प्रतिकिलो १३५ देखि १५० रुपैयाँसम्म पुगेको छ । राँगाको मासु त केही वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी महँगो भएको महसुस हुन्छ । यी मूल्यहरू ठाउँ र समयअनुसार फरक हुनसक्छन् । तर आमउपभोक्ताले दैनिक बजारमा भोगिरहेको वास्तविकता भने यही हो– सामान किन्न जाँदा हरेकपटक पहिलेभन्दा बढी पैसा खर्च गर्नुपर्छ ।
चाडपर्वको समयमा त झन् बजारभाउ बढेकै हुन्छ । हामी नेवार समुदायका मानिसहरूको जीवनमा महिनैपिच्छे कुनै न कुनै पर्व, पूजा, भोज वा सांस्कृतिक परम्परा जोडिएको हुन्छ । यी परम्परा हाम्रो पहिचान र संस्कृतिसँग सम्बन्धित छन् । तर अहिले पहिलेजस्तो मन खोलेर खर्च गर्न सकिने अवस्था छैन । भोजको तयारी गर्दा पनि पहिले बनाउने परिकारको सूची घटाउन थालेकी छु । पाहुनालाई राम्रोसँग खुवाउने रहर त हुन्छ, तर बजेटले साथ दिँदैन । संस्कार र परम्परा जोगाउन पनि आर्थिक अवस्था बलियो हुनुपर्नेरहेछ भन्ने महसुस हुन्छ, अचेल ।
कहिलेकाहीँ दाल, तरकारी र अन्य परिकारको खर्च जोड्दा मासु र भातमात्रै खाए सस्तो पथ्र्यो कि भन्ने पनि लाग्छ । तर खानपान भनेको पेट भर्नुमात्रै होइन, पोषण पनि हो । त्यसैले सस्तो खोज्दा पनि परिवारको स्वास्थ्य र पोषणलाई बेवास्ता गर्न सकिँदैन ।
पहिले विदेशमा बस्ने साथीहरूले प्याज दुईवटा, आलु तीन–चारवटा वा स्याउ एउटामात्रै किनेर ल्याएको सुनाउँदा अचम्म लाग्थ्यो । किन यति थोरै सामान किन्ने होला भन्ने लाग्थ्यो । अहिले आफ्नै अवस्था सम्झँदा उनीहरूको किनमेलको शैली बुझ्न थालेकी छु । आवश्यकताअनुसार थोरै–थोरै किन्ने, मूल्य हेरेर सामान छान्ने र खर्च नियन्त्रण गर्ने बाध्यता हामीकहाँ पनि बढ्दै गएको छ । फलफूल र पोषिलो खानेकुरा नियमित किन्ने इच्छा हुँदाहुँदै पनि बजेटले साथ दिँदैन । महँगीले हाम्रो खानपानको बानीसमेत परिवर्तन गर्नुपर्ने बेला आएको छ ।
महँगीको असर घरको भान्सामा मात्रै सीमित छैन । यसले परिवारको बचत, बालबालिकाको आवश्यकता, शिक्षा, स्वास्थ्य र भविष्यको योजनामा समेत प्रभाव पारिरहेको छ । पहिले केही रकम बचत गर्न सकिन्थ्यो । अहिले महिनाको खर्च कटाएर बचत गर्ने कुरा झन् कठिन बन्दै गएको छ । आकस्मिक बिरामी पर्दा वा कुनै अतिरिक्त खर्च आइपर्दा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।
(कुराकानीमा आधारित)



















