
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे भइरहेको विवादका बीच १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको बताएका छन्।
आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पार्टीको आधिकारिकताबारे कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे । पार्टीभित्र देखिएको विवादबारे धेरै टिप्पणी गर्न आवश्यक नरहेको भन्दै उनले आफूलाई सभापति घोषणा गरेर भ्रम फैलाउने काम भएको आरोप लगाए।
कोइरालाले पार्टी र मुलुक कठिन परिस्थितिमा रहेका बेला भएका यस्ता गतिविधि संयोग मात्रै नभएको दाबी गरे। उनले पार्टीको विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यताविपरीतका गतिविधि देश र पार्टी दुवैका लागि घातक हुने टिप्पणी गरे।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले आगामी मंसिर २१ गतेदेखि हुने १५औँ महाधिवेशनलाई पार्टीको इतिहासमा नयाँ आयामका रूपमा लिएको बताए। महाधिवेशनमार्फत कर्णालीलगायत सबै प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्ने पार्टीको योजना रहेको उनको भनाइ थियो।
देशलाई राजनीतिक निकास दिने सिद्धान्त र आदर्श कांग्रेससँग रहेको दाबी गर्दै कोइरालाले मुलुकको समृद्धिका लागि पार्टीसँग योजना र दृष्टिकोण रहेको बताए। कर्णाली प्रदेशका प्राकृतिक सम्भावनाको सदुपयोग गर्न कांग्रेस सक्षम रहेको उल्लेख गर्दै उनले प्रदेशको संघर्ष, सम्भावना र नागरिकका आवाजलाई राष्ट्रिय राजनीतिमा प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिँदै कोइरालाले खेलकुदले समेत प्रदेशका सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे।


















