Logo
Logo

नेपाली सांगीतिक लघुचलचित्र ‘सहिदकी आमा’ले अस्ट्रेलियामा जित्यो गोल्ड अवार्ड


0
Shares

काठमाडौं । नेपाली सांगीतिक लघुचलचित्र ‘बलिदान (सहिदकी आमा) अ लाइफ लिभ्ड इन मेमोरी’ले अस्ट्रेलियामा आयोजित ‘२०२६ एसीएस क्विन्सल्याण्ड अवाड्र्स’मा सिनेमाटोग्राफी विधातर्फ गोल्ड अवार्ड जितेको छ ।

शनिबार ब्रिसबेन सिटी हलमा आयोजित समारोहमा अस्ट्रेलियन सिनेमाटोग्राफर्स सोसाइटी (एसीएस) ले उक्त अवार्ड प्रदान गरेको हो । सन् १९५८ मा स्थापित एसीएस अस्ट्रेलियाका छायाकारहरूको प्रतिष्ठित संस्था हो । यस संस्थाले राज्यस्तरमा गोल्ड अवार्ड प्राप्त गर्ने कृतिलाई राष्ट्रिय अवार्डका लागि छनोट गर्दै आएको छ ।

रतन देवकोटाको लेखन, निर्देशन तथा निर्माणमा बनेको सांगीतिक लघुचलचित्रमा वरिष्ठ रंगकर्मी सरिता गिरीको मुख्य अभिनय रहेको छ । चलचित्रको छायांकन सरोज चौहानले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्। गीतका शब्द कवि अर्जुन पराजुलीले लेखेका हुन् र संगीत संयोजन रोमी बस्नेतले गरेका छन्।

सन् २०२५ सेप्टेम्बरमा नेपालमा सुशासन र भ्रष्टाचारविरुद्ध भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका करिब ७२ जना युवा सहिदहरूको स्मृतिमा यो सांगीतिक चलचित्र निर्माण गरिएको हो ।

आन्दोलनमा गोली लागेर छोरा गुमाएकी एक आमाले छोराको मृत्यु स्वीकार गर्न नसकी गाउँ फर्किने बाटो कुरेर खेतमा बुख्याचा बनाएर राखेको मार्मिक कथा चलचित्रमा प्रस्तुत गरिएको छ । छोराको प्रतीक्षामा रहेकी आमाको पीडा, स्मृति र विछोडलाई सांगीतिक तथा दृश्यात्मक माध्यमबाट अभिव्यक्त गरिएको चलचित्रले सहिद परिवारको भावनात्मक अवस्थालाई चित्रण गरेको छ ।

रतन देवकोटाको आधिकारिक युट्युब च्यानलमार्फत सन् २०२६ फेब्रुअरी २० मा सार्वजनिक गरिएको करिब आठ मिनेटको उक्त सांगीतिक लघुचलचित्रले नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000