Logo
Logo

भारतमा बालेनको कालो चश्मा र २५ घन्टा


डा. दीपेश केसी

0
Shares

प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमण गर्नुअघि नेपालमा जस्तै भारतमा एउटा चासो थियो–बालेनले किन सधैं कालो चश्मा नै परिरिन्छन् ? नेपाल मामलामा एक जानकारले पंक्तिकारलाई पनि यही विषयबारे साधेका थिए । यो विषय अझै रहस्यकै गर्भमा छ ।

अर्को चासो किन बालेनले भ्रमणलाई दिल्लीमा मात्र सिमित राखे त्यो पनि २५ घन्टा ? त्यसो त प्रधानमन्त्री बनेको एक वर्षसम्म विदेश भ्रमण नगर्ने बालेनकै विश्वासपात्र क्याबिनेट मन्त्रीले बताएका थिए विगतमा । उनले अमेरिकाको पहिलो भ्रमण गरे युएन सम्मेलनमा भाग लिन । त्यसपछि भारतको औपचारिक भ्रमण गरे । द्विपक्षीय भ्रमणमा उनको पहिलो भारत भ्रमण रह्यो । अब उनी चीन भ्रमणमा जाने लगभग निश्चित भएको छ ।

बालेनले छोटो भएपनि प्रधानमन्त्रीका रुपमा द्विपक्षीय भ्रमणको पहिलो गन्तव्य भारतलाई बनाए । उनी जस्तै जेन्जी विद्रोहपछिको चुनावबाट प्रधानमन्त्री बनेका बँगलादेशका प्रधानमन्त्री तारिक रहमानले भारतलाई भ्रमणको पहिलो गन्तव्य बनाएनन् मात्र अझैसम्म भ्रमण गरेका छैनन् । उनले पश्चिमा मुलुक र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखिरहेका छन् ।

बालेनले चीनलाई भारतभन्दा भ्रमणको पहिलो गन्तव्य बनाउलान् कि भन्नेमा भारत उत्तिकै गम्भीर थियो । दक्षिण एशियामा अमेरिका, यूरोपेली मुलुक, चीनको मात्र नभई साउदी अरब, टर्की जस्ता इस्लामिक देशहरुको चासोप्रति सतर्क भइरहेको भारतका लागि बालेनको भ्रमण उसका लागि लाभदायक बन्यो ।

भ्रमणमा विगतका विवाद र समस्या उचाल्ने विषय उठेन जसमध्ये सीमा र जलविद्युत सम्बन्धी विषय थियो । भारतका विदेश सचिव विक्रम मिश्रीले पत्रकारको प्रश्नमा लिपुलेकका विषयमा कुनै कुराकानी नभएको जवाफ दिए । बालेनले काठमाडौंको मेयर हुँदा ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेकाले सीमाको विषयमा उनले विषय उठाउन गरे कि भनेर चासो सर्वत्र थियो ।

इपीजीको प्रतिवेदनको औचित्य समाप्त भएको सन्देश भारतीय पक्षले यसपटक दियो । भारत सम्बन्धमा विगतको ब्यागेज बोकिदैन भन्ने जुन अभिव्यक्ति अर्थमन्त्री स्वर्णिम वाग्लेले दिल्ली पुगे विगमा दिएका थिए त्यही शैलीमा बालेन सरकारले भारतसँगको सम्बन्धमा समझदारीहरु गरेको छ । मोदीले बालेनसँगै उभिएर भेटघाटपछिको ब्रिफिङमा नेपालसँगको सम्बन्धमा नयाँ सुनौलो अध्याय देखिएको बताए ।

भारत भ्रमणमा बालेनले राष्ट्रपति द्रुपदी र्मुमुर, समकक्षी नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरे । महात्मा गान्धीको समाधीस्थलमा फूल चढाए । विगतका प्रधानमन्त्रीहरुले जस्तो भारतको अर्को शहरमा भ्रमण गरेनन् । समकक्षीसँगको संयुक्त ब्रिफिङबाहेक कहीं कतै सम्बोधन गरेनन् ।

देश फर्किएपछि विमानस्थलमा भ्रमणबारे जानकारी गराएनन् न त भ्रमणअघि पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मामलाका अनुभवीहरुसँग परामर्श गरे । उनले जानुअघि राष्ट्रपतिलाई समेत भेट्नन् । भारतले बालेनलाई उनी विगतमा अध्ययन गरेकाले बैंगलुरको भ्रमण गराउन खोजेको थियो । भ्रमण तीन दिनको बनाउन खोजेपछि बालेन तयार भएनन् । मोदीको गृहराज्य गुजरातको राजधानी अहमदाबादको भ्रमण समेत गराउने प्रयास सफल भएन । उनले भ्रमणलाई मात्र २५ घन्टामा सिमित राखेर दिल्लीमै भेट खुम्च्याए ।

मोदीसँग बालेनको २ घन्टा कुरा भयो जबकि भेटको समय कम तय थियो । द्विपक्षीय छलफलमा १९ मुख्य पूर्वाधार विकाससहित ८ द्विपक्षीय समझदारीलाई सूचीकरण भएका थिए । रसुवा बाढीमा भारतको सहयोगबारे निकै चासो थियो । उसले एक अर्ब ६० करोड डलर आर्थिक सहयोग प्याकेज दिने समझदारी गरेको छ भ्रमणका बेला । जसमध्ये एक अर्ब २० करोड डलर सहुलियत ऋण र बाँकी अनुदान रहेको छ ।

जनकपुरधामबाट अयोध्या रेल सेवा झण्डा उठाएर सुरुवात गरे दुवै देशका प्रधानमन्त्रीले झण्डोत्तोलन गरेर । पुल र जलविद्युत आयोजनाको शिलान्यास गरे । नयाँ संयुक्त सीमा चौकीको शिलान्यास गर्नुका साथै नपालका निजामती सेवा र सुरक्षा निकायका अधिकारीहरुलाई तालिमको सम्झौता गरे । गुजरातको कान्डा र उडिसाको पाराडिप बन्दरगाहमा नेपालको पहुँचसम्बन्धी सम्झौता भयो । तर, नेपालमा रोजगारी सृजना हुने गरी भारतबाट लगानीसम्बन्धी सम्झौता भएन । जेनजी विद्रोहका बखत भएके हिंसात्मक आगजनी र तोडफोडले नेपालमा बाह्य लगानीकर्ताहरु निरुत्साहित छन् । भारतका लगानीकर्तालाई आकर्षण नगरेसम्म अन्य देशका लगानीकर्ता आकर्षित हुने सम्भावना छैन । बालेन सरकारले त्यस्तो सम्भावना देखाउन सकेन ।

नयाँ पीढींबाट प्रधानमन्त्री भएका बालेन नयाँ परिस्थितिबाट सरकारको नेतृत्वमा आएकाले पनि भारतलाई यसबारे बुझ्न समय लागिरहेको थियो । यसपटकको भ्रमणबाट उसले बालेनको नाडी राम्ररी छामेको हुनुपर्छ । बालेनले पनि आफू भारतविरोधी राष्ट्रवादको झोला नबोक्ने सन्देश दिए दिल्ली पुगेर । मोदीले यसकारण पनि वन टु वन भेटपछि बालेनको खुलेर प्रशंशा गरे । बालेनको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ सुनौलो अध्याय देखिएको बताए । उनले युएन सम्मेलनमा दिएको अभिव्यक्तिको समेत उल्लेख गर्दै प्रशंशा गरे । दुई देशका प्रधानमन्त्रीको भेटपछि जारी संयुक्त दृष्टिकोण पत्रमा विकसित भारत र समुन्नत नेपालः साझेदारको पुनः कल्पनाको शीर्षक दिइयो । नयाँ हवाई रुट, ट्रान्जिट कनेक्टिभिटी, खेल कूटनीतिका विषय समावेश गरिए । बालेन र मोदीले संयुक्त रुपमा अयोध्या जनकपुरधाम रेल सेवाको उद्घाटन गरे । अयोध्याबाट जनकपुरधाम रेल आउँदा भव्य स्वागत भयो । धार्मिक पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण सुरुवात रह्यो त्यो ।

भारत भ्रमणपछि बालेनसँग विगतमा भएका समझदारी कार्यान्वयनको चुनौती छ । जेएनयूकी प्राध्यापक संगिता थपलियालको सेन्टर फर एडभान्स्ड स्ट्राटिजी एन्ड सेक्युरिटीमा प्रकाशित लेखमा नेपाल र भारत दुवै देशको प्राथमिकता समयमै परियोजनाहरु सम्पन्न गर्नु हुनुपर्ने लेखेकी छिन् । उनले समयमै परियोजना कार्यान्वयन भएमा मात्र आपसी विश्वास र अन्र्तसम्बन्ध विकास हुने उल्लेख गरेकी छिन् । यो दुवै देशको चुनौती हो जसमा घरेलु राजनीतिले समेत समस्या बनाउने गरेको छ । भारतविरोधी भावना जगाएर क्षणिक लोकप्रीयता हासिल गर्ने र पदमा पुगेपछि समस्याको कूटनीतिक हल निकाल्न नसक्ने कारण धेरै नेता चुकेका छन् ।

बोली र व्यवहारको तारताम्य नमिलाउने कतिपय नेताहरुका कारण नेपालले परियोजना नबढ्ने समस्या भोग्दै आएको छ । त्यसैले बालेनको तुलना विगतका त्यस्तै नेताहरुसँग हुन थालिसकेको छ । जस्तै घरेलु राजनीतिमा सीमा समस्याबारे मुद्दा नउठाएकोमा बालेनको आलोचना भयो ।

विगतमा उनले दिएको भारतविरोधी अभिव्यक्ति देखि ग्रेटर नेपालको नक्शा कार्यकक्षमा राखेको समेत सम्झाए । लोकप्रीयता बटुल्नकै लागि छिमेकको विरोध गर्ने र सत्तामा पुगेपछि रणनीति बदलिहाल्ने विगतका प्रधानमन्त्रीहरुकै निरन्तरता बालेनबाट देखियो । तर, सधै समस्या उचालेर र बल्झाएर मात्र छिमेकसँगको सम्बन्ध अघि बढ्दैन । सीमा समस्याका बाबजुद भारत र चीन सम्बन्ध सुमधुर बनेर बढिरहेको छ ।

बालेनको भारत भ्रमणकै दौरान भएको नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा भएको नेपाल–भारत नीति संवादमा विमर्शमा भारतको नीतिनिर्माण तहमा प्रभाव राख्न सक्ने विज्ञहरुले समाधानको सूत्रहरुबारे सुझाव समेत दिए । समस्याको समाधान असम्भव होइन तर त्यसलाई झन् ठूलो समस्या बनाउने शैलीले नेपाल र भारत दुवै देशको हित गर्दैन । दुवै देशको हित हुने सूत्रहरुले नै साथ साथ समृद्धि हासिल हुन्छ । छिमेकको विरोध गरी सत्तामा पुग्ने र सत्तामा पुगेपछि समस्या बल्झाइरहने शैली कसैको हितमा छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000