
काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा)ले आगामी आठौं महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ ।
नेपालका राजनीतिक दलहरूमध्ये महाधिवेशनमा पहिलोपटक इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने दल राप्रपा हो । तत्कालीन राप्रपा नेपालले २०७१ सालको महाधिवेशनदेखि सुरु गरेको यो अभ्यासलाई २०७३ र २०७८ सालका महाधिवेशनमा समेत निरन्तरता दिएको थियो ।
पार्टीको आगामी आठौं केन्द्रीय महाधिवेशन (२०८३) मा पनि इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
भोटिङ मेसिनमार्फत निर्वाचन गराउने केन्द्रीय निर्वाचन समिति बैठकले निर्णय गरेको श्रेष्ठले बताए । राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।


















