Logo
Logo

असई बन्न चार लाख घुस !


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै पैसा लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् ।


महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ पैसा लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भण्डारीले साहसँग दुई महिनाअघि ७० हजार घुस लिएका थिए, जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि चार लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमति थियो । उनीहरूबीच पाँच लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ । तर, नाम ननिस्केपछि साहले भण्डारीसँग एड्भान्सबापत बुझाएको पैसा मागे । भण्डारीले दिन इन्कारले गरेपछि साहले प्रहरीमा उजुरी गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पाँच लाखमा डिल भएको पाइएको बताए । ‘असइ बनाइदिन्छु भन्दै दुई पक्षबीच पाँच लाखको डिल भएको रहेछ । सोही सन्दर्भमा ७० हजार रुपैयाँ एड्भान्सस्वरूप दुई पक्षबीच लेनदेन भयो । बाँकी रकमचाहिँ नाम निस्केपछि लेनदेन गरिने सहमति थियो । तर, नाम निस्केन ।

साहले उजुरी गरेको उजुरीका अधारमा भण्डारी पक्राउ परे,’ उनले भने । प्रहरीका अनुसार भण्डारीले आफूलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका नजिकको मान्छे भनी परिचित गराउँथे । सोही आधारमा उनले विभिन्न प्रलोभन दिई सर्वसाधारणसँग रकम असुल्दै आएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको भर्ना लोक सेवा आयोगले लिने भएकाले विगतमा जस्तो चलखेल रोकिएको छ । तर, पनि कतिपयले भ्रममा पारेर पैसा लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्