
काठमाडौं, २६ माघ । संविधानले प्रधानमन्त्री ओलीलाई ‘जंगबहादुर’ बन्ने अधिकार दिएको सरकारी वकिलको दावी छ । प्रतिनिधसभा विघटनको मुद्धामा आइतबार प्रधानमन्त्रीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता अनन्त लुइँटेलले यस्तो जिकिर गरेका हु्न् ।
संवैधानिक इजलासमा उनले भने, ‘प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन संविधानले विघटनको अधिकार दिएको हो । संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकार छ ।’ उनले संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने कल्पना गरेको तर्क गर्दै संविधानले २ देखि ६ वर्ष संसदको अवधि हुने जिकिर गरे । उनले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको जिकिर गर्दै सोहीअनुसार रिट खारेज गरेर फैसला हुनुपर्ने तर्क गरेसमेत गरे
सोमबार प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई, सीपी रेग्मी, रवी शर्मा खनाल, टंक दुलाललगायतले बहस गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिइएको भन्दै रिट निवेदन खारेज गरिनुपर्ने जिकिर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको हो ।














