काठमाडौं, २८ माघ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । आयोगले आइतबारसम्ममा सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिता तथा दल दर्ताको प्रक्रिया अघि बढाउने तयारी थालेको हो ।
तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद नटुंगिदै आयोगले निर्वाचन तयारी तीव्र पार्नुलाई अर्थपूर्णरुपमा हेर्न थालिएको छ । मंगलबार मात्र पनि निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारी तीव्र पारिएको व्रिफिङ गरेका थिए ।

बैशाखमै निर्वाचन हुने भएपनि समय पर्याप्त नरहेको विज्ञहरुले बताइरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मितिमा निर्वाचन गर्नका लागि पर्याप्त समय रहेको बताएका छन् ।
फागुन २१ गते आयोगले अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशत गरिसकेपछि समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीका लागि दलहरुलाई आह्वान गर्नुका साथै मनोनयन दर्ताको प्रक्रिया सुरु हुने आयोगले जानकारी दिएको छ ।
आयोगले निर्वाचन तयारी तीव्र पार्दा नेकपा प्रचण्ड–माधव समूहलाई चित्त बुझेको छैन । नेकपाको आधिकारिकता टुंगो लगाएर मात्र निर्वाचन सम्भव हुने यो समूहले बताउँदै आएको छ । प्रधानमन्त्री ओली समूहले निर्वाचनमा दबाब दिंइरहँदा प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।











