काठमाडौं, २९ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको बहस सकिने भएको छ । प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने अधिवक्ताहरुले आजै बहस सक्नेछन् ।
प्रधानन्यायाधी चालेन्द्र शम्शेर जबराले माघ ३० भित्रमा बहस टुंग्याउने बताएका थियो । माघ ३० मा सोनाम ल्होसार परेकाले सार्वजनिक विदा छ । त्यसैले आजै प्रधानमन्त्रीका तर्फबाट अधिवक्ताहरुको बहस सकिनेछ ।

बहसका लागि हिजै सरकारी पक्षबाट दर्जनभन्दा बढी अधिवक्ताहरुले नाम टिपाएका थिए । प्रधानन्यायाधीश जबराले बहस छिटो सक्न पटक–पटक कानून व्यवसायीहरुलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।
उनले कतिपय अधिवक्ताहरुलाई नोट बुझाउन पनि सुझाव दिएका थिए । संवैधानिक इजलासले छिट्टै मुद्दा किनारा लगाउने ‘मूड’ बनाएको अधिवक्ताहरुको बुझाइ छ ।
प्रधानमन्त्रीका तर्फबाट बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पनि अधिवक्ताहरुले बहस गर्ने छन् । त्यसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको एमिकस क्यूरीले आफ्नो राय दिनेछ ।
फागुनको पहिलो साताभित्र बहस सक्ने र फैसला लेखनमा केही दिन लाग्ने सर्वोच्च अदालतको तयारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट परेको थियो । पक्षमा ७२ कानून व्यवसायीहरुले १३ दिन बहस गरेका थिए । माघ १९ गतेबाट रिटको विपक्षमा प्रधानमन्त्रीका तर्फबाट बहस भइरहेको छ ।
बुधबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, अन्जन न्यौपाने, माधवकुमार बस्नेत, रमेश गुरागाईं, श्रीधर पुडासैनी, देवी रेग्मी, कृष्णकुमार आङ्दम्बे, विजयप्रसाद मिश्रलगायतले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस जारी छ । सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।











