काठमाडौं, ११ फागुन । ओली सरकार कामचलाउ बनेपछि कर्मचारीतन्त्रमा पनि अराजकता र अस्थिरता बढेको छ । जिम्मेवारीमा ध्यान नदिने मात्र होइन अनुशासन समेत नमान्ने प्रवृत्ति देखिएको छ ।

कतिसम्म भने बढुवापछिको पहिलो पोष्टिङ समेत धेरै कर्मचारीले अस्वीकार गरेका छन् । आफूले रोजेकै कार्यालय जान पाउनुपर्ने माग राखेर हालै बढुवा भएका उपसचिवहरू सरुवा भएको कार्यालय हाजिर भएका छैनन् । गत २२ माघमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ उपसचिवको पदस्थापन गरेको थियो । तीन साता हुन लाग्दा पनि आधाजसो उपसचिव पदस्थापन भएको कार्यालय गएका छैनन् ।
पायक स्थानमा सरुवाका लागि लबिङ गर्दै उनीहरू सरुवा भएको कार्यालयमा नगई दौडधुपमा लागेका हुन् । यस्तो प्रवृत्ति रोक्न सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई मन्त्रालयमा हाजिर गर्न रोक लगाएको छ । कर्मचारीमा उपत्यका छाड्ने नचाहने प्रवृत्ति छ । छाड्नै परे प्रशस्त आम्दानी हुने कार्यालयमा मात्र जान्छन् । जसकारण उपत्यकामा दरबन्दीभन्दा धेरै तथा बाहिर कर्मचारीको अभाव छ ।
उता परराष्ट्र मन्त्रालयमा सहसचिव पदमा बढुवा अन्योलमा परेको छ । लोक सेवा आयोगले पाँच पदमा मात्र विज्ञापन गरेकोमा केही कर्मचारीले हालेको रिटमा सर्वाेच्चले सात पदमा विज्ञापन गर्न भनेको छ । जसअनुसार पुरानो विज्ञापन रद्द भएको छ भने नयाँ विज्ञापन हुन सकेको छैन । उता अबको करिब डेढ महिनापछि आयोगका पदाधिकारीले समेत अवकाश पाउँदैछन् । सोही कारण हुनसक्न आयोगले सहसचिवको विज्ञापन अझै खुलाएको छैन । आयोग रिक्त हुँदा कर्मचारीको बढुवा र भर्ना समेत रोकिने अवस्था छ ।











